बिहिबार, चैत १५, २०८०

वीरगञ्जको मेयरमा समाजवादी फोरमका सरावगी विजयी

वीरगञ्ज,१२ असोज । वीरगञ्ज महानगरपालिकाको मेयरमा संघीय समाजवादी फोरम नेपालका विजयकुमार सरावगी मेयरमा विजयी भएका छन् ।
वीरगञ्ज महानगरपालिकाको मेयर पदका लागि कांग्रेसका अजय द्विवेदी, एमालेका बसरुद्धिन अन्सारी, माओवादी केन्द्रका रहबर अन्सारी, राजपाका राजेशमान सिंह र लोकतान्त्रिक फोरमका विमल श्रीवास्तव चुनावी प्रतिस्पर्धामा थिए ।

मेयर निर्वाचित सरावगीले १९ हजार तीन सय ९३ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका द्विवेदीले १९ हजार एक सय ९७ मत पाए । यस्तै, १९ हजार ६ सय सात मतका साथ उपमेयरमा भने नेपाली कांग्रेसकी शान्ति कार्की विजयी भएकी छन् । कांग्रेसकी कार्की विजयी भइन् । उनकी प्रतिद्वन्द्वी फोरम नेपालकी पिंकी यादवले १८ हजार पाच सय ३० मत पाइन् ।

मेयर र उपमेयर दुवैमा राजपा तेस्रो बन्यो । लोकतान्त्रिक फोरमको स्थानमा मेयरमा चौथो र उपमेयरमा पाचौं, एमाले मेयरमा पाचौं र उपमेयरमा चौथो, माओवादी मेयर र उपमेयर दुवैमा छैटौं बन्यो ।

वीरगञ्ज महानगरका ३२ वडामध्ये संघीय समाजवादी फोरमले १२, कांग्रेसले १०, एमालेले ५, राजपाले ३, माओवादी केन्द्रले १ र लोकतान्त्रिक फोरमले १ वडा जितेका छन् ।

ब्यापारिक घरानामा जन्मिएका विजयी सरावगी सफल उद्योगी ब्यवसायी हुन् । उनी उद्योग वाणिज्य संघको अध्यक्ष समेत बनेका थिए ।

२०६३ को लोकतान्त्रिक आन्दोलनको बेला वीरगन्ज उद्योग वाणिज्य संघको अध्यक्ष थिए । पछि नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्य पनि बने । राजनीतिमा खासै सक्रिय नरहे पनि उनमा रुचि भने थियो । पछिल्लो मधेस आन्दोलनमा प्रत्यक्ष सक्रिय नरहेता पनि आन्दोलनको पक्षमा उनले भूमिका खेलेका थिए । ६ महिना अघि संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेसँगै उनले मेयरको टिकट पाएका थिए । उनी त्यसअघि कांग्रेस निकट थिए । चिरञ्जीवी लाल सरावगीका छोरा विजय बुवासँगै ब्यवसायमा सानै उमेरदेखि लागेका थिए ।