काठमाडौ, ९ असोज । घटस्थापनादेखि विधिवत रुपमा शुरु भएको दशैंको आज पाँचौ दिन, मुलुकभरका शक्तिपीठहरुमा स्कन्दमाता भगवतीको पूजा अर्चना गरिंदैछ ।
स्कन्दकुमार कार्तिकेयको बालस्वरुपलाई सदैव काखमा राखी ममतामयी स्नेह प्रदान गर्ने हुनाले नवरात्रीको पाँचौ दिन यिनलाई स्कन्दमाताको नामबाट पुकार्ने गरिन्छ ।चार हात मध्ये दायाँतर्फको माथिल्लो हातले स्कन्दकुमार कार्तिकेयलाई काखमा च्याप्दै बायाँतर्फको तल्लो हातमा कमलको फूल र माथिल्लो हातले बरमुद्रा धारण गरिएको शास्त्रहरुमा उल्लेख गरिएको छ ।
देशभर आदिकालदेखि उत्पत्ति भइरहेका र प्रतिष्थापित अष्टमातृकाका विभिन्न शक्तिपीठमा हिन्दु धर्माबलम्बीहरुले आज श्रद्धाभक्तिपूर्वक नवदुर्गा भगवानीको दर्शन गरी पूजाअर्चना गरिँदैछ ।
राजधानीका गृहेश्वरी, दक्षिणकाली, नक्साल भगवती, भद्रकाली लगायतका मन्दिर र शक्तिपीठहरुमा पूजा गर्न भक्तजनहरुको घुँइचो लागेको छ ।
