सर्लाही, ८ असोज । सर्लाहीका २० वटै स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक भएको छ ।
आज कविलासी नगरपालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएसँगै सबै स्थानीय तहमा मतगणना सकिएको हो । कविलासी नगरपालिकाको मेयरमा राजपा नेपालका कौशल किशोर राय र उपमेयरमा संघीय समाजवादी फोरमका राधा देवी निर्वाचित हुनु भएको छ ।
११ नगरपालिका र ९ गाउँपालिका रहेको सर्लाहीमा राजपा नेपालले सबै भन्दा बढी स्थानीय तहमा जित हाँसिल गरेको छ । उसले बलरा, गोडैता र कविलासी नगपालिका, ब्रम्हपुरी, कौडेना र चन्द्रनगर गाउँपालिका गरि ६ स्थानीय तहमा जित हासिल गरेको छ । काँगे्रस सर्लाहीमा दोस्रो भएको छ । जिल्लाको मलंगवा र हरिपूर्वा नगरपालिका, बसबरिया, रामनगर र धनकौल गाउँपालिकामा काँगे्रसका उम्मेदवार बिजयी भएका छन् ।
नेकपा एमालेले लालबन्दी, हरिवन, ईश्वरपुर र हरिपुर नगरपालिकामा बिजयी हुँदै तेस्रो भएको छ । यस्तै माओवादी केन्द्रले बरहथवा र बागमती नगरपालिका तथा चक्रघट्टा गाउँपालिकामा जित हाँसिल गरेको छ । संघीय समाजवादी फोरमले पर्सा गाउँपालिका र नेपाल लोकतान्त्रिक फोरमले विष्णु गाउँपालिका गरि एक–एक वटा स्थानीय तहमा चुनाव जितेका छन् ।
