मङ्गलबार, बैशाख २२, २०८३

तीन दिनमा तीन लाखभन्दा धेरै यात्रु उपत्यकाबाट बाहिरिए

काठमाडौ, ८ असोज । बडादशैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट दैनिक बाहिरिने यात्रुको संख्या बढेको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार अरु दिनको तुलनामा घटस्थापना सुरु भएसँगै यात्रुको बाहिरिने संख्या बढेको हो । यात्रु उपत्यकाको नागढुंगा, जगाती, फर्पिङ र नागार्जुन नाकाबाट यात्रुहरु बाहिरिने गरेका छन् । घटस्थापनादेखि आजसम्म तीन दिनमा तीन लाख १६ हजार १ सय ५२ जना बाहिरिसकेका छन् ।
घटस्थापनाका दिन १३ हजार ३४९ सवारी साधनमा ९७ हजार ३४०, दोस्रो दिन १३ हजार ३२१ सवारी साधनमा एक लाख सात हजार ७८ र तेस्रो दिन १४ हजार ४१९ सवारी साधनमा एक लाख ११ हजार ७३४ यात्रु बाहिरिएका छन् । महाशाखाका प्रमुख सर्वेन्द्र खनालले अरु समयमा दैनिक ७० देखि ८० हजारको हाराहारीमा यात्रु बाहिरिने गरे पनि दशैँको सुरुसँगै बाहिरिनेको संख्यामा वृद्धि भएको बताउनुभयो ।
यसैबीच यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले दशैँका लागि ६ हजारको हाराहारीमा सार्वजनिक सवारी साधनले सेवा दिएको जानकारी दिनुभएको छ । यातायात व्यवस्था विभागले यो वर्ष दशैँ मान्न २० देखि २१ लाख यात्रु बाहिरिने जनाएको छ ।
विभागका प्रवक्ता डा टोकराज पाण्डेले १५ देखि १६ लाख यात्रु सार्वजनिक सवारी साधन र पाँच÷छ लाख यात्रु निजी बसमा दशैँ मान्न घर जाने गरेको बताउनुभयो । चाडबाडको अवसर छोपी सार्वजनिक यातायातमा टिकटमा कालाबजारी गर्ने, तोकिएभन्दा बढी भाडा लिने र राज्यले सहुलियत दिएकालाई सहुलियत नदिए कडा कारबाही गरिने भौतिक पूर्वाधार तथा यातायातमन्त्री वीरबहादुर बलायरले बताउनु भएको छ ।
दशैँ मान्न हिँडेका यात्रुसँग नराम्रो व्यवहार गर्ने यातायात व्यवसायी, सवारीका चालक र परिचालकलाई पनि सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार कानूनी कारवाहीको दायरमा ल्याइने उहाँको भनाइ छ ।