मङ्गलबार, बैशाख २२, २०८३

माओवादीको सङ्घर्षले कर्णाली प्रदेश बनेको प्रचण्डको दावी

काठमाडौ, ६ असोज । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले माओवादीको दवाव र सङ्घर्षले कर्णाली प्रदेश बनेको बताउनु भएको छ ।
आज दिउँसो जुम्लाको सिन्जा उपत्यकामा आयोजित जनसभामा बोल्दै अध्यक्ष प्रचण्डले आफूहरु १४ वा १० प्रदेशको पक्षमा रहेको उल्लेख गर्दै कांग्रेस एमालेका नेताहरु पाँच विकास क्षेत्रलाई नै प्रदेश बनाउन खोजेको भए पनि सङ्घर्ष गरेर सात प्रदेश बनाउन सफल भएको दावी गर्नुभयो । निरन्तरको दवाव र सङ्घर्षले मात्र अहिलेको ६ नम्वर प्रदेश बनेको उहाँको भनाइ थियो ।
सिन्जा उपत्यका खस भाषा र खस सभ्यताको केन्द्र भएको चर्चा गर्दै प्रचण्डले आफू प्रधानमन्त्री भएको बेला खस भाषा र संस्कृतिको अध्ययन, अनुसन्धान र विश्व स्तरमा चिनाउने उद्धेश्यले खस भाषा, संस्कृति प्रतिष्ठान बनाउन खोजिएको बताउनुभयो । यस बारेमा काम अघि बढेको भए पनि सोचेजति प्रगति नभएको उहाँको धारणा थियो ।
कर्णालीको विकास माओवादीको प्राथमिकतामा भएको प्रचण्डले बताउनुभयो । नाग्चे लाग्ना नाका खोल्न चीनसँग कुटनीतिक पहल गरिरहेको जानकारी गराउँदै प्रचण्डले नाग्मा गम्गडी सडक कालोपत्रे गरिने आश्वासन पनि दिनुभयो ।