मङ्गलबार, बैशाख २२, २०८३

नालाको वास्तविक चित्रण चिनारीमा

काभ्रे, ७ असोज , पर्यटकीय क्षेत्र नगरकोटको काखमा अवस्थित बनेपा नगरपालिका–२ को टुकुचा नाला आसपासका क्षेत्रलाई समेत समेटेर तयार गरिएकोे ‘चिनारी’ नामक पुस्तक आज सार्वजनिक गरिएको छ ।

साहित्यकार नमराज घिमिरे ‘शिखर’ द्वारा तयार गरिएको सो पुस्तकमा प्राकृतिक सुन्दरताको धनी नाला, श्वेतबराह माविको ऐतिहासिक पृष्ठभूमि, रत्नचुडेश्वर माविको परिचय, बनेपा नपा–२ सम्भावना र चुनौती, सहकारी विकासक्रम र समाज परिवर्तनमा स्थानीय सहकारीको भूमिका, काभ्रेको इतिहास, ऋषिको तपोभूमि नाला र त्यस क्षेत्रमा बसोबास गर्ने विभिन्न जातजातिका ऐतिहासिक पृष्ठभूमिसमेत समेटिएका छन् ।

पुस्तकको विमोचन गर्दै सिँचाइ मन्त्री सञ्जय गौतमले कृषि क्षेत्रलाई प्राङ्गारिक, वैज्ञानिक र व्यवस्थित ढंगबाट अगाडि बढाइ स्थानीय बासिन्दाको आयस्तरमा सुधार ल्याउन स्थानीय जलजले हिले सिँचाइ परियोजना सञ्चालन गर्नका लागि राज्यबाट हुनसक्ने सहयोग उपलब्ध गराउने बताउनुभयो ।

उहाँले घिमिरेद्वारा सम्पादित चिनारी नामक पुस्तकबाट यस क्षेत्रको ऐतिहासिक तथा पर्यटकीय महत्वका बारेमा परिचित गराउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा सभासद् कञ्चनचन्द्र वादेले लामो इतिहास बोकेको बनेपा नगरको वास्तविक इतिहास बाहिर आउन पुस्तक उपयोगी रहेकोे बताउनुभयो ।

कार्यक्रममा बनेपा–२ का वडा अध्यक्ष हरिशरण घिमिरेको सभापतित्वमा सम्पन्न कार्यक्रममा कवि, कलाकार रमेश पौडेल, साहित्यकार रामप्रसाद पाठक, पुस्तकका सम्पादक नवराज घिमिरे शिखर, गौरी पब्लिकेशन तथा प्रकाशनका दामोदर ढकाललगायतले पुस्तकको महत्वमाथि चर्चा गर्नुभएको थियो ।

सो अवसरमा स्थानीय बयोवृद्ध समाजसेवी बोधराज गिरी र रामप्रसाद घिमिरेलाई दोसल्ला ओढाएर कदरपत्रले सम्मान गरिएको थियो ।