शुक्रबार, बैशाख १४, २०८१

दशैँको तेस्रो दिन चन्द्रघण्टा देवीको आराधना

काठमाडौँ, ७ असोज । वडा दशैँको तेस्रो दिन आज दशैँ घर अथवा पूजा कोठामा दुर्गा स्थापना गरिएको स्थलमा नव दुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाको पूजा आरधना गरी मनाइयो ।

नव दुर्गामध्ये पहिलो दिन शैलपुत्रीको पूजा आराधना गरिन्छ भने दोस्रो दिन ब्रह्मचारिणीको स्तूति गर्ने शास्त्रीय विधि रहेको छ । तेस्रो दिन चन्द्रघण्टा देवीको आराधना गर्ने परम्परा रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताउनुभयो ।

आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म क्रमशः पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ । नौवटा दुर्गाका रुपलाई नवदुर्गा पनि भन्ने गरिन्छ ।

दुर्गा पक्षमा महाकाली, महालक्ष्मी, महासरस्वतीसहित नवदुर्गाको पूजाआराधना गरेमा वर्षभरका लागि आध्यात्मिक शक्ति प्राप्त हुने, मनोकामना पूरा हुने धार्मिक विश्वास छ ।

आश्विन शुक्ल पक्षलाई शक्ति आरधनाको विशेष पर्वका रुपमा मनाउने गरिन्छ । उपत्यकालगायत देशभरका शक्तिपीठमा भक्तजनको भीड लाग्नेक्रम पनि बढेको छ । आज शनिबार भएकाले गुह्येश्वरी, नक्साल भगवती, शोभा भगवती, भद्रकाली, कालिकास्थान, बज्रयोगिनीलगायत स्थानमा भक्तजनको भीड लाग्यो ।