बिहिबार, बैशाख १३, २०८१

पर्वतमा ४० टन लप्सी प्रशोधन

फलेवास (पर्वत), ७ असोज । यो वर्ष पर्वतमा ४० टन लप्सी प्रशोधन गरिएको छ ।

नेपालमै सबैभन्दा बढी लप्सी उत्पादन हुने पर्वत जिल्लाको मुडिकुवामा सञ्चालित सामुदायिक खाद्य प्रशोधन उद्योगमा यस वर्ष ४० टन लप्सी प्रशोधन गरिएको हो । यो वर्ष जिल्लामा १३० मेट्रिक टन लप्सी उत्पादन भएको छ ।

जनशक्ति र प्रविधिको अभाव तथा पर्याप्त बजार नहुँदा उत्पादित सबै लप्सी प्रशोधन गर्न सकिएको छैन्, पर्वत सामुदायिक खाद्य प्रशोधन उद्योगका सञ्चालक थानेश्वर भुसालले भन्नुभयो – “अझै पनि ९० मेट्रिक टन लप्सी प्रशोधन गर्न बाँकी नै छ ।”

गत वर्ष जिल्लामा उत्पादित लप्सीबाट रु १० लाख मूल्य बराबरका विभिन्न परिकार बनाएर अमेरिकातर्फ निकासी गरिएको थियो । यो वर्ष जिल्लामा उत्पादित सबै लप्सी स्वदेशमै खपत भएको छ ।

लप्सीबाट माडा, अचार, क्याण्डी, तितौरा, जाम, लप्सी धुलो, पिरो क्याण्डीलगायतका परिकार बन्दै आएका छन् ।

विगत १५ वर्षअघिदेखि लप्सी प्रशोधनका लागि स्थापित सामुदायिक खाद्य प्रशोधन उद्योगले यस वर्ष ४० टनभन्दा बढी उत्पादन गर्न नसकिएको सञ्चालक भुसालले जानकारी दिनुभयो । लप्सी प्रशोधनबाट यस वर्ष रु २० लाखभन्दा बढीको कारोबार भएको समेत उहाँले जानकारी दिनुभयो ।

‘एक जिल्ला एक उत्पादन’अन्तर्गत यो जिल्लाका लागि लप्सी छनोट भएकाले यस सम्बन्धी उद्योगको विस्तार र विकासमा थप हौसला मिलेको उहाँले बताउनुभयो ।

जिल्लाका साविकका ३५ गाविसमा लप्सीे उत्पादन हुँदै आएको छ । कुनै बेला जंगलमा त्यसै झरेर कुहिने लप्सी पछिल्लो समय प्रशोधन गर्न थालेपछि आम्दानीको राम्रो स्रोत बन्न थालेको छ । लप्सी प्रशोधनमा जिल्ला वन कार्यालय, जिल्ला कृषि विकास कार्यालय र घरेलु तथा साना उद्योग विकास समितिले समेत सघाउ पु¥याउँदै आएका छन् ।

कृषि उद्यमी तथा नेपाली काँग्रेस केन्द्रीय कार्यालयका पूर्वमुख्य सचिव ऋषिकेश तिवारीले २०५५ देखि पर्वतमा लप्सीको सम्भावना देखेर यसको प्रशोधन प्रक्रिया शुरु गर्नुभएको थियो । पर्वत सामुदायिक विकास संस्थामार्फत उद्योग सञ्चालनका लागि प्राविधिक प्रक्रियामा लागेका तिवारीको सक्रियतामा लामो संघर्षपछि उद्योग सञ्चालनमा ल्याइएको हो ।

वनपाखामा त्यसै खेर जाने लप्सीबाट राम्रो आम्दानी हुन थालेको देखेपछि पर्वतका तीन दर्जनभन्दा बढी गाविसमा यसको व्यावसायिक खेती शुरु भएको छ । उक्त उद्योगमा अदुवा, मोरिङ्गा, अलैँची, अमला, बेसारलगायतको प्रशोधनसमेत हुँदै आएको छ ।