बिहिबार, बैशाख १३, २०८१

संघ र प्रदेशको निर्वाचन तोकिएकै मितिमा : मन्त्री कार्की

इटहरी, ६ असोज । अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकलाई समृद्ध बनाउन र संविधानको सफल कार्यान्वयन गर्दै अघि बढ्नका लागि सरकारले चाँडै र तोकिएकै समयमा प्रदेश र संघको समेत निर्वाचन सम्पन्न गराउने बताउनुभएको छ ।

जिल्लाको महेन्द्रनगरस्थित चक्रघट्टीमा नेपाली काँग्रेसले आज आयोजना गरेको दशैको शुभकामना आदान प्रदान कार्यक्रममा उहाँले भर्खरै स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेको र प्रदेश र संघको निर्वाचनलाई पनि जिम्मेवारपूर्वक सम्पादन गर्न सरकारले कुनै कसर बाँकी नराख्नेमा जोड दिनुभयो ।

अर्थमन्त्री कार्कीले मुलुक समृद्ध नभएसम्म संविधान सफल नहुने र जनताको संघर्षपछि प्राप्त उपलब्धिले संस्थागतरुपमा सफलता समेत नपाउने भएकाले ती सवै उपलब्धिको रक्षाका लागि पनि सबै प्रजातन्त्रमा विश्वास गर्ने शक्तिबीच सहकार्य र एकता हुनु आवश्यक रहेकोमा जोड दिनुभयो ।

सुनसरीका धार्मिक तीर्थस्थल भएको रामधुनी तथा विष्णुपादुकामा टेलिकम टावर बनाउने कार्यमा राज्यले विशेष पहल गर्ने रामधुनी मन्दिरदेखि चक्रघट्टिसम्मको सात किलोमिटर सडक कालोपत्रे गरिने तथा सप्तकोशी बहुमुखी कलेजको शैक्षिक उन्नयनका लागि आवश्यक पर्ने आर्थिक सहयोग उपलब्ध गराउने विषयमा सरकार सकारात्मक रहेको उहाँले बताउनुभयो ।