काठमाडौ, ५ असोज । प्रदेश नम्वर २ मा सम्पन्न भएको स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा मत परिणाम आउने क्रम सुरु भएको छ ।
अहिले सम्म ८ वटा स्थानीय तहको परिणाम सार्वजनिक भइसकेको छ । जसमध्ये एमाले चार स्थानीय तहमा बिजयी भएको छ । नेपाली कांग्रेस, रापजा, माओवादी केन्द्र, संघीय समाजवादी फोरम र लोकतान्त्रिक फोरमले १ ÷ १ स्थानमा विजयी भएका छन्।
कांग्रेसको ४१ ठाउँमा अग्रता छ । दोस्रो ठुलो अग्रता संघीय समाजवादी फोरमको रहेको छ । फोरम २९ स्थानमा अगाडी छ । त्यस्तै माओवादी १९, एमाले १६ र राजपा १५ स्थानमा अगाडी छन् ।
सर्लाहीको विष्णु गाउँपालिकामा नेपाल लोकतान्त्रिक फोरम विजयी
सर्लाही। सर्लाहीको विष्णु गाउँपालिकामा नेपाल लोकतान्त्रिक फोरम विजयी भएको छ ।
गाउँपालिकाको अध्यक्षमा सो पार्टीका जवाहार लाल यादव १९ सय ४६ मत प्राप्त गरि विजयी हुनु भएको हो । उहाँका प्रतिस्पर्धी संघीय समाजवादी फोरम नेपालका अरबिन्द कुमार सिंहले १५ सय ४९ मत प्राप्त गरेका छन् । विष्णु गाउँपालिकाको उपाध्यक्षमा पनि नेपाल लोकतान्त्रिक फोरमकै उषा देवी १९ सय ३२ मत प्राप्त गरि विजयी भएकी छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका अन्जु कुमारी बैठाले १७ सय २१ मत प्राप्त गरिन् । ८ वटा वडा रहेको विष्णु गाउँपालिकामा असोज २ गते भएको स्थानीय तह निर्वाचनमा कुल ११ हजार १ सय ४१ मतदाता मध्ये ८ हजार ६ सय ८८ मत खसेको थियो ।
धनुषाको बटेश्वर एमाले विजयी
धनुषा । धनुषाको बटेश्वर गाउँपालिकामा एमाले विजयी भएको छ । बटेश्वर गाउँपालिकाको अध्यक्षमा एमालेका डम्बर बहादुर राउत २ हजार ३ सय ७७ मत ल्याई विजयी भएका ह्न । उनका निकटतम प्रतिद्धन्दी कांग्रेसका रामअशिष महतोले २३ सय ३ मत ल्याए।
यस्तै, उपाध्यक्षमा पनि एमालेकै प्रमिला देवी २ हजार २ सय ९० मत ल्याई विजयी भइन् । उनका निकटतम प्रतिद्धन्दी कांग्रेसका जनारसीदेवीले २ हजार १ सय ९६ मत ल्याइन् । बटेश्वर गाउँपालिकाको वडा नम्बर १ र ५ मा कांग्रेस, ३ र ४ मा एमाले र ३ मा नेकपा माओवादीकेन्द्र विजयी भएको छ ।
सिरहाको विष्णुपुरमा संघीय समाजवादी फोरमले जित्यो
सिरहा । सिरहाको विष्णुपुर गाउँपालिकामा संघीय समाजवादी फोरम नेपाल विजयी भएको छ । विष्णुपुर गाउँपालिकाको प्रमुखमा फोरम नेपालका उम्मेदवार जागेश्वर यादव एक हजार ९ सय ४० मत प्राप्त गरी विजयी भएका ह्न ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का सत्यनारायण यादवले एक हजार २ सय ८० मत प्राप्त गरे । तेस्रोमा नेकपा माओवादी केन्द्रका सतदेव यादवले एक हजार २ सय ५४ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
त्यस्तै, गाउँपालिकाको उपप्रमुखमा संघीय फोरम नेपालका अरहुलादेवी सिंहले दुईहजार सात मत प्राप्त गरी विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका ललितादेवी यादवले एक हजार २ सय २० मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
