शुक्रबार, बैशाख १४, २०८१

‘समावेशी र समानुपातिक प्रणालीलाई व्यवहारमा उतारौं’

ललितपुर, ४ असोज  । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानमा लेखिएका समावेशी र समानुपातिक प्रणालीलाई व्यवहारमा लागू गरिनुपर्ने बताउनुभएको छ ।

नेपाल आदिवासी जनजाति संघ केन्द्रीय समितिद्वारा आज आयोजित ‘संविधानमा आदिवासी जनजातिको हकअधिकार र नेपाली काँग्रेसमा जनजातिको भविष्य’ विषयको गोष्ठीमा उहाँले उत्पीडित वर्गलाई समावेश गरेर माथि उठाउने सिद्धान्त काँग्रेसले मात्र अवलम्बन गरेको बताउनुभयो ।

देशमा ठूल्ठूला परिवर्तन ल्याउन जनजातिको ठूलो भूमिका रहेको पनि उहाँले बताउनुभयो ।

मुलुकलाई आर्थिकरुपले सबल बनाउन कृषि क्रान्ति गर्न जरुरी रहेको नेता पौडेलको भनाइ थियो । कृषिको आधुनिकीकरण र पर्यटन प्रवद्र्धनले नेपालीको आयआर्जनमा उल्लेख्य सुधार हुने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो ।

नेकाका मुख्य सचेतक चीनकाजी श्रेष्ठले समावेशी र समानुपातिक प्रणाली राज्यको हरेक निकाय र पार्टीको सबै तह तथा तप्कामा कार्यान्वयन हुनुपर्ने विचार व्यक्त गर्नुभयो ।

संघका अध्यक्ष इन्द्रबहादुर गुरुङले राजनीतिक दल र राज्यले समावेशीताको सिद्धान्तलाई अक्षरशः पालना गरे आदिवासी जनजातिको उत्थान हुने बताउनुभयो ।