मङ्गलबार, बैशाख २२, २०८३

अठासी किलो सुन प्रकरणमा पाँच पक्राउ

काठमाडौँ, ४ असोज  । महानगरीय अपराध महाशाखाले ८८ किलो सुन ओसारपसार गरेको आरोपमा थप पाँच जनालाई पक्राउ गरेको छ ।

महाशाखाबाट खटिएको टोलीले कार्यविनायक सुनचाँदी गहना पसल रञ्जना ट्रेड सेन्टरका गणेशदत्त बडू, रविश्याम ट्रेडर्स नरदेवीका सत्यनारायण अग्रवाल, शाक्य सुनचाँदी पसल बाङ्गेमुढाका शुभरत्न शाक्य, सिद्धनाथ सुनचाँदी पसल खार्नी वटुका उल्लास दिनकर सालुखे र पशुपति सुनचाँदी पसल खार्नी वटुकै नन्दकुमार मर्गलेलाई सोमबार पक्राउ गरेको हो ।
gold
महाशाखाका प्रमुख दिवेश लोहनीले आज पत्रकार सम्मेलनमा बडूसँग रु १० लाख ८२ हजार नेपाली रुपैयाँ, आठ हजार भारतीय रुपैयाँ र एक हजार १०० अमेरिकी डलर, अग्रवालसँग रु १३ लाख नेपाली रुपैयाँ र शाक्यसँग रु एक करोड ४२ लाख नगद र एक केजी २०९ ग्राम सुन बरामद गरिएको जानकारी दिनुभयो ।

उनीहरुलाई सहयोग गर्दै आएका सालुखे र मर्गलेलाई समेत पक्राउ गरिएको छ । प्रमुख लोहनीका अनुसार घटनामा योभन्दा धेरैको सहभागिता देखिएको छ र यस प्रकरणमाथिको अनुसन्धान जारी छ ।

महाशाखाको टोलीले गत भदौ १९ गते काठमाडौँको क्षेत्रपाटीबाट बा१७च ६४२७ नंको टाटा सफारी गाडीसहित चालक मनोज अधिकारीलाई पक्राउ गरेको थियो ।