मङ्गलबार, बैशाख २२, २०८३

सोह्रश्राद्ध समापन

काठमाडौँ, ४ असोज।  आश्विन कृष्ण प्रतिपदादेखि शुरु भएको सोह्रश्राद्ध अर्थात् पितृपक्ष आजदेखि सम्पन्न हुँदैछ ।

कृष्ण प्रतिपदादेखि शुक्ल प्रतिपदासम्मका १६ तिथिमा गरिने महालय (पार्वण) श्राद्धलाई सोह्रश्राद्ध भन्ने गरिन्छ । भदौ २१ गतेदेखि यो पर्व शुरु भएको थियो । मंगलबार औँसी तिथि श्राद्ध गरिएको थियो ।

आज आश्विन शुक्ल प्रतिपदाका दिन मातामह अर्थात् मामाघरका हजुरबा (आमा बाबु) का नाममा श्राद्ध गरेपछि पितृपक्ष सकिने धार्मिक विधि रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले जानकारी दिनुभयो ।

चाडपर्व, यज्ञयज्ञादि तथा ठूला कार्य गर्नुभन्दा पहिले आफ्ना पितृको श्रद्धासाथ सम्झना गर्ने वैदिक परम्परा छ । वडादशैँ र तिहारजस्ता महान् चाडका अगाडि पर्ने सोह्रश्राद्धले सन्ततिलाई आफ्ना पितृप्रतिको दायित्व बोध गराउनाका साथै पितृ ऋणबाट मुक्त गराएर चित्तशुद्धि गराउँछ भन्ने शास्त्री मान्यता उहाँले सुनाउनुभयो ।

बिहीबारदेखि दुर्गा पक्ष अर्थात् दशैँ पर्व शुरु हुँदैछ ।