शुक्रबार, चैत १६, २०८०

कृषि उत्पादन वृद्धि गरी स्वरोजगार प्रदान गर्नुपर्छ : मन्त्री गौतम

चितवन, ३ असोज (रासस)ः सिँचाइमन्त्री सञ्जयकुमार गौतमले कृषि उत्पादनलाई वृद्धि गरेर आत्मनिर्भरसँगै स्वरोजगार प्रदान गर्नुपर्ने बताउनुभएको छ ।

आज यहाँ पत्रकारसँग कुराकानी गर्दै मन्त्री गौतमले नीतिगत रुपमा राज्य चुकेका कारण कृषिमा आत्मनिर्भर हुननसकेको बताउनुभयो । उहाँले कृषि प्रणालीमा नीतिगत रुपमा सुधार नगरेसम्म सोचेअनुरुपको प्रगति गर्न नसकिने धारणा व्यक्त गर्नुभयो ।

मन्त्री गौतमले कृषिमा आत्मनिर्भर बनाउन प्रविधिको विकास र आधुनिक कृषि प्रणालीको विकास गर्नुपर्ने बताउनुभयो । कृषिलाई आधुनिकिकरण गर्न नसक्दा लाखौं युवा विदेश जान बाध्य भएको उहाँको भनाइ थियो ।
“हामी अझै पनि परम्परागत कृषि प्रणालीमा आधारित छौंँ,” मन्त्री गौतमले भन्नुभयो– “आत्मनिर्भर बन्न आधुनिक कृषि प्रणालीमा जानुको विकल्प छैन् ।” देशमा कृषि उत्पादनलाई वृद्धि गरेर रोजगारको अवसर सिर्जना गर्नतर्फ सरकारको ध्यान केन्द्रित भएको गौतमले बताउनुभयो ।

स्थानीय तहका संरचना निर्माण र कर्मचारी व्यवस्थापन नभएसम्म तीव्र विकास गर्न नसकिने भन्दै उहाँले राष्ट्रिय गौरवका सिँचाइ योजनालाई विशेष प्रथामिकतामा राखेर सरकारले काम गरिरहेको बताउनुभयो । रु ५० लाखसम्मको बजेट स्थानीय तहमा गएपछि कतिपय कार्यालयमा दुई महिनायता काम नभएको भन्दै उहाँले छिट्टै यसलाई टुङग्याउन आफू लागिपरेको बताउनुभयो ।

संघीयता कार्यान्वयन गर्दैगर्दा कर्मचारी व्यवस्थापन चुनौतिपूर्ण रहेको भन्दै उहाँले स्थानीय निकायलाई अधिकार सम्पन्न बनाएर संघीयता कार्यान्वयन गर्नुपर्ने बताउनुभयो ।