बुधबार, बैशाख १२, २०८१

नारी साहित्य सम्मान स्थापना

काठमाडौँ, २ असोज (रासस) : पछिल्लो पुस्ताका सशक्त नारी स्रष्टा पुष्पा खनालले आफ्नो स्व आमाको स्मृतिमा ‘दमन्ता खनाल स्मृति नारी साहित्य सम्मान’ स्थापना गर्नुभएको छ ।

सामाजिक चिन्तन र आध्यात्मिकतालाई भावभूमि बनाई साहित्यिक रचना गर्ने मोफसलका नारी स्रष्टालाई सो सम्मान प्रदान गरिने स्रष्टा खनालले जानकारी दिनुभयो । विसं २०७५ देखि प्रदान गरिने सो सम्मानको राशि रु १० हजार १११ सहित सम्मानपत्र रहेको छ ।

नेपाल स्रष्टा समाजको कोषाध्यक्ष तथा नेपाल रेडक्रश सोसाइटीका सञ्चारविज्ञ पदमा कार्यरत स्रष्टा खनालले आमाको प्रेरणाले साहित्यमा कलम चलाउन उत्प्रेरणा मिलेकाले आफूले सो सम्मान स्थापना गरेको जानकारी दिनुभयो । गीतकार खनालको गीतिसंग्रहसमेत प्रकाशित छ ।

उहाँले हालै सम्पन्न समाजको १०औँ वार्षिक साधारणसभा तथा विशेष साहित्यिक कार्यक्रममा सो सम्मानको घोषणा गर्नुभएको थियो । सो अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठानका कूलपति गंगाप्रसाद उप्रेतीले स्रष्टाले स्रष्टालाई नै सम्मान गर्ने कामको थालनी गरी स्रष्टा खनालले उत्कृष्ट कार्यको थालनी गरेकामा खुशी व्यक्त गर्नुभयो ।

स्रष्टा खनालकी आमा दमन्ता खनालको गत माघ २६ गते ८१ वर्षको उमेरमा मृत्यु भएको थियो ।
–––