काठमाडौं,२ असोज । प्रदेश नम्बर २ को ८ जिल्लामा कडा सुरक्षाको विच मतदान सुरु भएको छ । स्थानीय तह निर्वाचनअन्तर्गत प्रदेश २ मा बिहान ७ बजेदेखि मतदान सुरु भई साँझ ५ बजेसम्म हुनेछ ।
मतदानका लागि १३६ वटै स्थानीय तहमा उल्लासमय उपस्थिति देखिएको छ । मतदाताहरु बिहानैदेखि मतदानका लागि लाममा लागेको छन् । प्रदेश नम्बर २ को १३६ स्थानीय तहमा आज निर्वाचन हुँदैछ । यसअघि देशका ६ प्रदेशमा स्थानीय तहको निर्वाचन भए पनि प्रदेश नम्बर २ मा राष्ट्रिय जनता पार्टी लगायत दललाई सहभागी गराउन निर्वाचन रोकिएको थियो । राजपासहित निर्वाचनको विपक्षमा रहेका दलहरु सहभागी हुन तयार भएपछि त्यहाँ आज निर्वाचन भएको हो ।
प्रदेश २ मा १ महानगरपालिका, ३ उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका रहेका छन् । निर्वाचन आयोगका अनुसार, ६ हजार ६ सय २७ पदका लागि त्यहाँ हुन लागेको निर्वाचनमा ३७ हजार २ सय ३६ उम्मेदवार मैदानमा छन् ।
