महिलाको लागि अंश र वंशको अधिकार स्थापित– मन्त्री कोइराला

तनहुँ, १ असोज (रासस) ः महिला तथा बालबालिकामन्त्री आशा कोइरालाले महिलाको लागि अंश र वंशको अधिकार स्थापित भइसकेकाले कार्यान्वयनतर्फ प्रक्रिया अघि बढाइएको बताउनुभएको छ ।

लमजुङको मध्यनेपाल नगरपालिका–६ स्थित अखिल नेपाल महिला संघ (क्रान्तिकारी)द्वारा आज यहाँ आयोजित एकताको सातौँ जिल्ला अधिवेशनको उद्घाटन गर्दै मन्त्री कोइरालाले स्थानीय तहमा महिलाको सहभागिता सुनिश्चित भइसकेको बताउनुभयो ।

“अब महिला सशक्तरुपमा अघि बढ्न आवश्यक छ । महिला अझै पनि सुरक्षित छैनन्, हिंसात्मक गतिविधिमा कमी आउन सकेको छैन, देशभरका स्थानीय तहमा तत्काल उद्धार समिति गठन गर्न लागेका छौँ,” उहाँले भन्नुभयो ।

महिलाको लागि आत्मनिर्भर बनाउन स्वरोजगारमूलक कार्यक्रम ल्याउन लागिएको उहाँको भनाइ थियो ।

अखिल नेपाल महिला संघ (क्रान्तिकारी)की अध्यक्ष सुनिता पाण्डेको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का नेता मोहनहरि पौडेल, गीता शाहीलगायतले महिलाको हक अधिकारका बारेमा आ आफ्ना धारण राख्नुभएको थियो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया