मङ्गलबार, बैशाख २२, २०८३

निर्वाचन मौन अवधि शुरू,मन्त्रीहरुलाई प्रदेश दुईमा जान रोक

काठमाडौं,३१ भदौ । प्रदेश दुईका आठ जिल्लाका १३६ स्थानीय तहमा असोज २ गते हुने तेस्रो चरणको निर्वाचन मौन अवधि शुरू भएको छ ।

शुक्रबार राति १२ बजेपछि निर्वाचन आयोगले मताधिकार प्रयोग गर्न नपर्ने मन्त्रीहरुलाई दुई नम्बर प्रदेशका जिल्लाहरूमा जान रोक लगाएको हो । शुक्रबार राति १२ बजेपछि निर्वाचनको मौन अवधि शुरू भएकाले मताधिकार प्रयोग गर्नु नपर्ने मन्त्रीहरूलाई दुई नम्बर प्रदेशका जिल्लाहरुमा उपस्थित हुन रोक लगाइएको आयोगले जानकारी दिएको छ  ।

आयोगले त्यसको जानकारी आयोगमा गराउन बारा, पर्सा, रौतहट, सर्लाही, सिरहा, महोत्तरी, धनुषा र सप्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन समेत दिएको छ ।

मन्त्रीहरूको अनावश्यक उपस्थितिले निर्वाचनमा स्वच्छता, निष्पक्षता र स्वतन्त्रतामा आँच पुग्न सक्ने आयोगको निष्कर्ष छ ।

निर्वाचन आचारसंहिता उल्लंघन नहुने गरी मताधिकारको प्रयोगका लागि आफ्नो मतदान केन्द्र रहेको जिल्लामा भने मन्त्रीहरू उपस्थित हुन पाउने आयोगले स्पष्ट पारेको छ ।