शनिबार, बैशाख ०८, २०८१

मुलुक अब आर्थिक समृद्धितर्फ अधि बढ्ने : गृहमन्त्री शर्मा

चितवन, ३० भदौ । गृहमन्त्री जनार्दन शर्माले देश अब आर्थिक समृद्धितर्फ अघि बढ्ने बताउनुभएको छ ।

ग्रामीण सञ्चार सञ्जाल माडीले आजदेखि माडीको वसन्तपुरमा आयोजना गरेको माडी सांस्कृतिक उत्सव तथा कृषि पर्यटन एवं व्यापार मेला–२०७४ को आज उद्घाटन गर्दै मन्त्री शर्माले स्थानीय तहको निर्वाचनपछि जनप्रतिनिधि उत्साहित रुपमा आफ्नो क्षेत्रको विकासमा लागेको भन्दै राष्ट्र अब आर्थिक समृद्धितर्फ अघि बढेको बताउनुभएको हो ।

विगतमा जनप्रतिनिधि नहुँदा विकास निर्माणका काम प्रभावकारी हुन नसकेको बताउँदै उहाँले अबको विकास जनताको चाहनाअनुसार हुने बताउनुभयो । २ नं प्रदेशमा हुन लागेको निर्वाचन शान्तिपूर्ण ढंगबाट सम्पन्न हुने उहाँको भनाइ थियो ।

ग्रामीण सञ्चार सञ्जालका अध्यक्ष सूर्य पाठकको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा माडी नगरपालिका प्रमुख ठाकुर ढकाल, उपप्रमुख ताराकाजी महतो, श्रीप्रसाद दवाडी, सिपी सुवेदी लगायतले बोल्नुभएको थियो । १२० वटा स्टल रहेको उत्सवमा करिब ५० हजार दर्शकले अवलोकन गर्ने अपेक्षा लिइएको छ ।