शुक्रबार, बैशाख ०७, २०८१

निर्वाचनमा सूचना प्रबाह प्रभावकारी बनाउन निर्देशन

सप्तरी, ३० भदौ । मुख्य निर्वाचन अधिकृत शारदाप्रसाद कोइरालाले स्थानीय तहको निर्वाचनमा सूचना प्रवाहलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभएको छ ।

निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउन आज यहाँ आयोजित छलफलमा सहभागी निर्वाचन अधिकृतहरुलाई उहाँले यो निर्वाचनमा राष्ट्रिय, अन्तर्राष्ट्रिय तथा स्थानीय सञ्चार माध्यम तथा अन्य निकायले विशेष चासो दिएकाले सूचना प्रबाह छिटोछरितो र प्रभावकारी बनाउन निर्देशन दिनुभयो ।

निर्वाचनको सम्पूर्ण तयारी भइसकेको र मतदान अधिकृतसमेत खटिसकेको मुख्य निर्वाचन अधिकृत कोइरालाले जानकारी दिनुभयो ।

प्रमुख जिल्ला अधिकारी भगीरथ पाण्डेले निर्वाचनका लागि पूर्णरूपमा सुरक्षा व्यवस्था मिलाइएको छ भन्नुभयो ।

निर्वाचन आयोगबाट अनुगमनमा खटिएका सहचिवद्वय सञ्जीवराज रेग्मी र छबिन्द्र पराजुलीले निर्वाचन आचारसहिता पालना गर्न गराउन र मतदाता,मतपेटिका तथा मतदान केन्द्रको सुरक्षामा ध्यान केन्द्रित गर्न जोड दिनुभयो ।

सप्तरीमा ९ नगरपालिका र ९ गाउँपालिकासहित १८ वटा स्थानीय निकायमा यही असोज २ गते निर्वाचन हुने भएको छ ।

यसैबीच प्रदेश नं– २ अन्तर्गत सप्तरीमा असोज २ गते हुने स्थानीय तहको निर्वाचनमा शान्ति र सुरक्षा कायम गराउन आज यहाँ सुरक्षा निकायको बैठक बस्यो ।

बैठकमा आपाराधिक क्रियाकलाप रोक्न तथा निर्वाचनलाई स्वतन्त्र र निष्पक्ष तथा धाँधलीरहित बनाउन निर्णयसमेत गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी पाण्डेको अध्यक्षतामा बसेको बैठकमा मतदान केन्द्र मतपेटिका र मतदाताको सुरक्षाको सम्बन्धमा छलफल भएको सो बैठकमा सुरक्षा निकाय र निर्वाचन कार्यालयका प्रमुखको सहभागिता थियो । रासस