काठमाडौं,२९ भदौ । नक्कली भ्याट बिल प्रकरणमा राजश्व अनुसन्धान विभागले नौ जनाविरुद्ध १९ करोड रुपैयाँको मुद्दा दायर गरेको छ ।
विभागले दुई दिनअघि नक्कली भ्याट बिल कारोबारीविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर गरेको हो । नक्कली भ्याट बिल प्रकरणमा दायर गरिएको यो झण्डै एक दशकपछिको ठूलो मुद्दा हो । विभागले झण्डै तीन महिना लामो अनुसन्धानपछि मुद्दा दर्ता गरेको हो ।
वीरगञ्जका कालिका ट्रेड एन्ड एप्लायर्स (स्थायी लेखा नम्बर ६०३८५०९४५), आदित्य ट्रेड एन्ड सप्लायर्स (स्थायी लेखा नम्बर ३०१७९७४५८) र विश्वकर्मा ट्रेड कन्सर्न (स्थायी लेखा नम्बर ६०३३५८८०९)मार्फत् सामान खरिद गरिएको भुटो भ्याट बिल पेस गरेको विभागको ठहर छ ।
त्यसबाट सरकारसँग भ्याट ‘क्रेडिट’ दाबी गर्ने तथा विभिन्न र्फमलाई नक्कली भ्याट बिक्री विजक जारी गर्ने काममा संलग्न उनीहरु विरुद्ध विभागले मुद्दा दायर गरेको हो ।
प्रदीपकुमार बर्मा, दीपककुमार बर्मा, गणेश रिजाल, अनिल महतो धानुक, गुल्सन श्रीवास्तव, दशरथ हजरा दुसाद, उपेन्द्र महतो, राजेशकुमार श्रीवास्तव र सिकेन्द्रकुमार श्रीवास्तवविरुद्ध मुद्दा दायर गरिएको हो ।
उनीहरु विरुद्ध विभागले नौ करोड ९१ लाख ४६ हजार रुपैयाँ बिगोसहित त्यसको दोब्बर १९ करोड ८३ लाख ७२ हजार रुपैयाँ जरीवाना दाबी गर्दै मुद्दा चलाइएको छ । ३/३ वर्षको कैदसमेत मागदाबी गरिएको छ । विभागका अनुसार उनीहरूले वस्तुको कारोबार नै नगरी बिलविजक जारी गरेर सरकारसँग भ्याट क्रेडिट दाबी गरेका थिए । ती फर्मका बिलविजक स्वीकार गर्ने थप २९ फर्ममाथि पनि अनुसन्धान भइरहेको विभागले जनाएको छ ।
आरोपितहरुले स्वयं कर प्रणालीको दुरुपयोग गर्दै राज्यलाई तिर्नुपर्ने भ्याट रकमभन्दा बढी देखिने काल्पनिक खरिद विवरणसहितको विवरण पेस गरी राजश्व छल्ने गरी प्रयत्न गरेको विभागको भनाइ छ ।
विभागले कर सहयोगी प्रदीपकुमार बर्माको कार्यालयमा छापा मारी कागजात नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो । उनका भाइ दीपककुमार बर्माले भने नक्कली बिलबिजकका लागि संयोजन र सहयोग गर्ने गरेको विभागको अनुसन्धानबाट खुलेको छ ।
