मंगलबारे (इलाम), २८ भदौ । चाडपर्व नजिकिएसँगै बुधबार इलाममा बजार अनुगमन गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय इलामको अगुवाईमा इलाम नगरपालिका, जिल्ला प्रहरी कार्यालय इलाम, इलाम उद्योग वाणिज्य संघ, करदाता सेवा कार्यालय इलाम, कृषि विकास कार्यालय इलामको टोलीले जिल्ला सदरमुकाम अनुगमन गरेको हो ।
अनुगमन टोलीले इलाम बजारका मिठाइ पसल, फलफूल तथा तरकारी, होटल, किराना र माछा पसल गरी जम्मा १७ वटा पसलमा अनुगमन गरेको थियो ।
अनुगमनका क्रममा अधिकांश पसलमा उपभोक्ताको स्वास्थ्यमा अत्यन्तै हानी गर्ने म्याद गुज्रिएका सामानदेखि मूल्यसूची नराखिएका पलसहरू भेटिए ।
चाडपर्व नजिकिएसँगैबवजारमा बढी किनमेल हुने र यसै समयमा व्यवसायीले कालोवजारी साथै मिसावट गर्ने भएकाले अनुगमन गरिएको अनुगमन टोलीमा रहेका आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागका संयोजक शेबहादुर देवानले बताउनुभयो । अनुगमनका क्रममा सबैभन्दा बढी पेय पदार्थ म्याद गुज्रिएको पाइएको छ ।
सत्रवटा पसलमध्ये छवटा पसल दर्ता नगरी चलेका र पान नम्बर नलिइ चलेको पाइएको थियो । ती पसल सञ्चालकलाई १५ दिनभित्र करदाता सेवा कार्यालयमा बोलाइएको छ ।
सबैभन्दा बढी कोकाकोला म्याद गुज्रिएको भेटेपछि व्यापारीहरूले तीन दिनअघिमात्र कोकाकोला आफ्नो पसलमा झरेको बताएका थिए । कम्पनीले तीन दिनअघि मात्र पसलमा झारेको सामानमा यस्तो त्रुटि पाइएको व्यापारीको भनाइ छ । रासस