बुधबार, बैशाख २३, २०८३

जनताको भलो गर्ने पार्टी काँग्रेस हो : प्रधानमन्त्री

राजविराज (सप्तरी), २७ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले यही असोज २ गते प्रदेश नं २ मा हुने स्थानीय तहको निर्वाचन शान्तिपूर्ण, धाँधलीरहित हुने भएकाले निर्वाचनमा सबैलाई उत्साहपूर्वक भाग लिन आग्रह गर्नुभएको छ ।

नेपाली काँग्रेस सप्तरी जिल्ला कार्यसमितिद्वारा आज राजविराजमा आयोजित जनसभालाई सम्बोधन गर्दै नेपाली काँग्रेसका सभापतिसमेत रहनुभएका प्रधानमन्त्री देउवाले देशको बदलिँदो परिस्थितिमा जनताको भलो गर्ने पार्टी काँग्रेस नै भएकोले प्रदेश नं २ मा पनि आफ्ना पार्टीका उमेदवारलाई विजयी गराउन आग्रह गर्नुभयो ।

देश संक्रमणकालीन अवस्थाबाट गुज्रिरहेको वर्तमान अवस्थामा मधेसी, दलित, जनजातिको समस्या समाधान गर्न आफूले संविधान संशोधन विधेयक ल्याएको तर नेकपा (एमाले)को असहयोगको कारण विधेयक पास हुन नसकेको र मधेसको समस्या जस्ताको त्यस्तै रहेको उल्लेख गर्दै उहाँले अगामी दिनमा काँग्रेसको बहुमत आएमा मधेसको समस्या समाधन हुने विश्वास दिलाउनुभयो ।

प्रधानमन्त्री देउवाले ‘मधेसका मसिहा’ भन्ने मधेसवादीदलबीच व्यापक किचलो र भेदभाव रहेकाले मधेसवादी पार्टीले भन्दा काँग्रेसले तराई मधेसको समस्या समाधान गर्ने दाबी गर्नुभयो । प्रतिपक्षी दल एमालेले एकदलीय तानाशाही व्यवस्था लाद्न खोजेको र मधेसमा भेदभाव र तानाशाह बन्न खोजेको आरोप उहाँले लगाउनुभयो ।

तराई मधेसमा बर्सेनि हुने बाढी तथा डुबानको समस्या समाधानका लागि भारतीय समकक्षी नरेन्द्र मोदी तथा बिहारका मुख्यमन्त्री नितिश कुमारसँग भेटी समस्या समाधानका लागि छलफल गरेको र छिट्टै समस्या समाधान निस्केन विश्वास दिलाउँदै प्रधानमन्त्री देउवाले काँग्रेसले सुरु गरेको हुलाकी सडकको निर्माणमा आफू लागिरहेको बताउनुभयो ।

उहाँले यतायात, सिचाइँ र कृषि क्षेत्रको दिगो विकासका लागि काँग्रेस योजनाबद्ध रुपमा काम गर्ने पार्टी भएकाले आफ्नो पार्टीको उमेदवारलाई विजयी गराउन आग्रह गर्नुभयो ।

सभालाई सम्बोधन गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले एमाले, दक्षिणपन्थी र प्रतिगमनकारी शक्ति भएका कारण संविधान संशोधन सफल हुन नसकेको आरोप लगाउनुभयो । उहाँले तराई मधेसको सम्मान र पहिचानको पक्षमा काँग्रेस उभिएकोले मधेसको समस्या समाधान गर्न काँग्रेसको विकल्प नभएको बताउनुभयो ।

मधेसी र पहाडी समुदायबीच कुनै किसिमको भेदभाव नरहेको दाबी गर्दै नेता पौडेलले केही नेताको स्वार्थको कारणले तराईमाथि भेदभाव भएको उहाँले उल्लेख गर्नुभयो । तराई–मधेस, काँग्रेस र लोकतन्त्र एक अर्काको पर्यायवाची रहेको उल्लेख गर्दै उहाँले तराई मधेसको समस्या समाधान गर्न काँग्रेस कहिल्यै पछि नपर्ने बताउनुभयो ।

पार्टीका महामन्त्री डा शशांक कोइरालाले काँग्रेस लोकतन्त्रको संस्थागत विकासमा लागेको र निरंकुशताको विपक्षमा रहेको बताउनुभयो ।

नेता विमलेन्द्र निधिले नेपाली काँग्रेस पार्टी देशको ऐतिहासिक एवं जिम्मेवार, समावेशी पार्टी भएको र छुटटै सैद्धान्तिक विचार धारा भएको पार्टी भएकाले आफ्ना पार्टीका उमेदवारलाई विजय गराउन अपिल गर्नुभयो ।

काँग्रेस सप्तरीका अध्यक्ष दिनेशकुमार यादवको सभापतित्वमा सम्पन्न सभालाई काँग्रेस नेता रमेश लेखक, खेलकुद राज्यमन्त्री तेजुलाल चौधरी, पार्टी कोषाध्यक्ष सीतादेवी यादव र सांसद रन्जीत कर्णलगायतले सम्बोधन गर्नुभएको थियो । रासस