काठमाडौं । हिमालयन बैंक लिमिटेडले आफ्ना विद्युतीय भुक्तानी प्रणाली “एचबीएल ई कमर्स पेमेन्ट गेट वे” को नयाँ संस्करण शुरु गरेको छ ।
यससँगै बैंकको डेविट वा क्रेडिट कार्ड प्रयोग गरेर स्वदेशी तथा विदेशी व्यापारी तथा ग्राहकहरुले अनलाईन सेवा मार्फत वस्तु तथा सेवाको खरीद बिक्री गरी सक्नेछन् ।
बैंकले हाल शुरु गरेको ई कमर्सको नयाँ सँस्करण एशिया प्यासिफिक क्षेत्रको प्रतिष्ठित विद्युतीय भुक्तानी सेवा प्रदायक टुसीटुपी थाइल्यान्डसँगको सहकार्यमा शुरु गरेको हो । बैंकले अन्तर्राष्ट्रिय तथा स्थानीय कार्डधारकहरुलाई लक्षित गरेर ई कमर्सको यस संस्करणको विकास गरेको हो ।
नेपालकै इतिहासमा हिमालयन बैंकले सर्वप्रथम ई कमर्स सेवाको शुरुवात गरेको हो दाबी गरेको छ । ई कमर्सको माध्यमले वस्तु तथा सेवाको खरीद तथा विक्री विद्युतीय प्रणाली मार्फत गर्न सकिन्छ । बैंकको विद्युतीय भुक्तानी प्रणाली प्रयोग गरी स्थानीय व्यवसायीहरुले आफ्ना उत्पादनहरु सजिलो तथा सुरक्षित किसिमले स्थानीय तथा अन्ताराष्ट्रिय वजारमा विक्री गर्न सक्नेछन् । हाल परिष्कृत गरिएको विद्युतीय भुक्तानी प्रणालीले सवै भिसा तथा माष्टरकार्ड ब्राण्डका कार्डहरु स्वीकार गर्दछ । निकट भविष्यमै अमेरिकन एक्सप्रेस, जेसिबि तथा युपिआई कार्डहरु समेत यस प्रणालीले स्वीकार गर्ने गरि तयारी भइरहेको बैंकले बताएको छ ।
परिमार्जित यस ई कमर्स सेवा सवै प्रकारका व्यवसायहरु जस्तै उड्डयन, होटेल, ट्राभल तथा टुर, अनलाईन खरिद विक्री साईट, सिनेमा थिएटर आदिहरुको लागि समेत उपलब्ध छ । हाल बुद्ध एअर, यती एअरलाइन्स, सिम्रिक, गोमा तथा श्री एअरलाइन्स, मुन्चा, चेयर्स, ओलिज, स्मार्ट डोको, हिमालयन सोसल जर्नी र नेपाल सोसल ट्रेक्स लगायतले एचविएल ई कमर्स पेमेन्ट गेटवे प्रयोग गरिरहेका छन् ।
