शनिबार, बैशाख ०८, २०८१

पूर्व सांसदहरुलाई पेन्सन दिनुपर्ने कांग्रेस सांसदहरुको प्रस्ताव

काठमाडौं,२६ भदौ । नेपाली कांग्रेसले पूर्व सांसदहरुलाई पनि कर्मचारीलाई जस्तै पेन्सन दिनुपर्ने प्रस्ताव गरेको छ । पूर्व पदाधिकारीको सुबिधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि सोमवार संसदको राज्यव्यवस्था समिति बैठकमा भएको छलफलमा कांग्रेस सांसदहरुले पेन्सनको प्रस्ताव राखेका हुन् ।

कांग्रेस संसदीय दलकी सचेतक इश्वरी न्यौपाने, अर्जुन जोशी लगायतले सांसदलाई राज्यले पेन्सन लगायत सुबिधा उपलव्ध गराउनुपर्ने र विधेयकमा यो पनि व्यवस्था थप्नुपर्ने माग गरे ।

सचेतक न्यौपानेले भनिन्, ‘पूर्वसांसद जस्तो सम्मानित व्यक्तित्वहरुलाई राज्यले बेवास्ता गर्दै आएपनि अब त्यसो गर्नु हुँदैन ।’

कांग्रेसका अर्का सांसद अर्जुनप्रसाद जोशीले निष्ठापूर्वक जनताको सेवा गरेका पूर्वसांसदहरुलाई पनि पूर्व पदाधिकारीको मान्यता दिइ सुविधा उपलब्ध गराउनुपर्ने धारणा राखे । यसैगरी जनमोर्चाका सांसद चित्रबहादुर केसीले भने जनतामाथि एकपछि अर्को पीडा थपिएको बेला पूर्व सांसदहरुलाई सुविधा दिने विषय उठाउन नहुने टिप्पणी गरे ।

यस विषयमा एमाले र माओवादी केन्द्रका सांसद भने यसबारे मौन बसेका छन् ।

सरकारले संसदमा पेश गरेको विधेयकमा पूर्व सांसदलाई पेन्सन दिने व्यवस्था छैन । पूर्व राष्ट्रपतिलाई मासिक पचास हजार रुपैयाँ र पूर्व उपराष्ट्रपतिलाई मासिक चालीस हजार रुपैयाँ पेन्सन वृत्ति उपलव्ध गराउने विधेयकको प्रस्ताव छ ।