शुक्रबार, बैशाख ०७, २०८१

‘समृद्धिका लागि दुई तिहाइ ल्याउने एमालेको उद्देश्य’

काठमाडौँ,२६ भदौ । नेपाल पूर्वराष्ट्रसेवक लोकतान्त्रिक पार्टी नेकपा(एमाले)मा समाहित भएको छ ।

एमाले केन्द्रीय कार्यालय धूम्रबाराहीमा आज आयोजित कार्यक्रममा २१४ जना सो पार्टीका सबै केन्द्रीय, प्रदेश र जिल्ला समितिसहित प्रवेश गरेका थिए ।
सो अवसरमा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको समृद्धिका लागि एमालेले निर्वाचनमा दुई तिहाइ ल्याउने उद्देश्य राखेको बताउनुभयो । “देशलाई विनाविलम्ब समृद्धिको बाटोमा लैजानुपर्छ”, उहाँले भन्नुभयो ।

पूर्वप्रधानमन्त्री ओलीले दुई छिमेकी देशसँग मित्रवत् र समान सम्बन्ध राखेर टकरावमा नपरी नेपालले आफ्नो हितका पक्षमा काम गर्नुपर्ने बताउनुभयो । उहाँले छिमेकीसँगको पुराना मानसिकता र व्यवहार परिवर्तन गरेर नयाँ सम्बन्ध स्थापित गर्नुपर्नेमा जोड दिँदै अध्यक्ष ओलीले छिमेकीलाई डुबान गराउन र सीमा स्तम्भ सार्ने जस्ता काम नगर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा एमाले उपाध्यक्ष वामदेव गौतमले साम्राज्यवादी र पूँजीवादीले एमालेमाथि प्रहार गरिरहेका बेला एउटा सिंगै पार्टी एमालेमा आएर थप राष्ट्रिय एकता जोगाउन सहयोग पुग्ने बताउनुभयो । कार्यक्रममा नवप्रवेशीका तर्फबाट लोकतान्त्रिक पार्टीका अध्यक्ष चूडादेवसिंह लामा, संरक्षक वसन्तराज कुँवर र वरिष्ठ नेता धरणीधर खतिवडाले एमालेको देशप्रति देखिएको झुकावका कारण आफूहरु त्यसमा प्रवेश गरेको बताउनुभयो ।