बिहिबार, बैशाख १३, २०८१

बाढीपीडितलाई शैक्षिक संस्थाको रु नौ लाख सहयोग

भक्तपुर, २४ भदौ । तराईका बाढीपीडितलाई यहाँका शैक्षिक संस्थाले आर्थिक सहयोग प्रदान गरेका छन् ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) ले आफ्ना सदस्य विद्यालयबाट रु छ लाख ३० हजार संकलन गरेको थियो । सदस्य विद्यालयले भने शिक्षक, अभिभावक र विद्यार्थीबाट बाढीपीडितको सहयोगार्थ भन्दै स्वेच्छिक सहयोग आह्वान गरेको थियो ।

विद्यालयबाट संकलित रकम प्याब्सन केन्द्रीय समितिमार्फत सरकारलाई बुझाइने प्याब्सन भक्तपुर अध्यक्ष श्रीकृष्ण केसीले जानकारी दिनुभयो ।

यता नेशनल प्याब्सनले पनि आफ्ना सदस्य विद्यालयमार्फत रु एक लाख ३० हजार संकलन गरेको नेशनल प्याब्सन भक्तपुरका अध्यक्ष जिबी खड्काले जानकारी दिनुभयो ।

एभरेष्ट इङ्लिस स्कुल मिवाछें भक्तपुरले शिक्षक, विद्यार्थी तथा कर्मचारीबाट संकलित रु एक लाख एक हजार १११ र एभरेष्ट स्काउट एकाइबाट रु ३० हजार प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा पठाएको एभरेष्ट इङ्लिस स्कुलका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारीले जानकारी दिनुभयो ।

त्यसैगरी सूर्यविनायक नगरपालिका जगाती भातेढिकुरस्थित मदरल्याण्ड इङ्लिस स्कुलले बाढीपीडितका लागि रु ५० हजार सहयोग गरेको प्रिन्सिपल सञ्जय खड्काले जानकारी दिनुभयो । रासस