शनिबार, बैशाख ०८, २०८१

एचआइभी संक्रमित विरामी बढे

रामपुर (पाल्पा), २२ भदौ । पाल्पा जिल्लामा एचआइभी संक्रमितका बिरामीको संख्या बढ्दो छ । हिजोआज एचआइभी संक्रमित व्यक्ति विस्तारै खुल्न थालेपछि एचआइभी संक्रमित बिरामीको संख्या बढ्न थालेको हो ।

आर्थिक वर्ष २०७३÷०७४ मा ३१२ जना एचआइभी संक्रमित फेला परेका छन् । अघिल्लो वर्षको तुलनामा १७ जना एचआइभी संक्रमित थपिएका छन् ।

आव ०७२÷०७३ मा २९५ जना एचआइभी संक्रमित रहेको जिल्ला जनस्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी माधव ज्ञवालीले जनकारी दिनुभयो । गाउँगाउँमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिन थालेपछि पछिल्लो समय उनीहरु गाउँ समाजमा खुल्न थालेको उहाँले बताउनुभयो ।

भित्रभित्रै समाजको डर र लाजका कारण रोग लुकाएर बसिरहेका एचआइभी संक्रमित अहिले स्वास्थ्य संस्थामा नै परामर्श तथा उपचारका लागि जानेक्रम बढ्न थालेको ज्ञवालीको भनाइ छ । रासस
–––––––––