काठमाडौं,२२ भदौ । प्रदेश नम्बर २ को आगामी असोज २ गते हुने चुनावका लागि उत्साहजनक रुपमा उम्मेदवारी दर्ता भएको छ । साँझ नपर्दै सकिनुपर्ने उम्मेदवारी सकिएको छ ।
विगतमा आन्दोलनको केन्द्रका रुपमा रहेको मधेसमा बुधबार रातिसम्म उम्मेदवारी दर्ता गर्नेहरुको लहर देखिनु आफैंमा एउटा रोचक राजनीतिक परिदृश्य हो । यो दृश्यले मधेसमा स्थानीय चुनाव एउटा उत्सवकै रुपमा आएको महसुस स्थानीयले गरेका छन् ।
र, यो उत्साहले अब प्रदेश र केन्द्रको चुनावलाई समेत सकारात्मक प्रभाव पार्ने कतिपय मानिसहरुको पूर्वानुमान छ । निर्वाचन आयोगका अनुसार ६६२७ पदका लागि चारगुणा बढी उम्मेदवारी परेको छ ।
प्रदेश नम्बर २ का ८ वटा जिल्लामा वीरगञ्ज महानगरपालिकासँगै तीनवटा उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका गरी १३६ वटा स्थानीय तहमा निर्वाचन हुँदैछ । आज मनोनयन दर्ता भएपछि आगामी असोज २ गते मतदान हुनेछ ।
प्रदेश नं २ मा २६ लाख ६४ हजार ९ सय ५० मतदाता छन् भने २१६६ मतदान स्थल र ३५७८ वटा मतदान केन्द्र निर्धारण गरिएको छ । ६१७ वटा स्थानीय तहमा निर्वाचन भइसकेको छ ।
