शनिबार, बैशाख ०८, २०८१

पर्यटन प्रवद्र्धन गर्न मिनि म्याराथन

बनियानी (झापा), २१ भदौ । पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले झापाको शिवसताक्षीमा मिनि म्याराथनको आयोजना गरिने भएको छ ।

शिवसताक्षी नगरपालिकामा रहेको सताक्षीधाम, दोमुखा र चिल्लागढधामको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले भदौ ३१ गते मिनि म्याराथन आयोजना गर्न लागिएको सतासीधाम जेसीजका अध्यक्ष विनोद खरेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार म्याराथन कनकाई पुलदेखि सताक्षीधाम मन्दिर परिसरसम्म करिब ११ किलोमिटर लामो हुनेछ ।

म्याराथनमा प्रथम हुनेले रु १५ हजार, द्वितीयले रु १० हजार र तृतीय हुनेले नगद रु पाँच हजारसहित पदक र प्रमाणपत्र पाउने अध्यक्ष खरेलले बताउनुभयो । सताक्षीधाम जेसीजले आयोजना गरेको यो म्याराथनको तेस्रो संस्करण हो । रासस