शुक्रबार, बैशाख ०७, २०८१

‘व्यवसायी र कर प्रशासनबीच समन्वयको खाँचो’

काठमाडौँ, २० भदौ । अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाललाई विकासोन्मुख राष्ट्रबाट सन् २०२२ सम्ममा विकासशील देशमा लैजान आन्तरिक स्रोत तथा साधनको समूचित परिचालन गर्नुपर्ने बताउनुभएको छ ।

आन्तरिक राजश्व विभागद्वारा आज यहाँ आयोजित व्यवस्थापन गोष्ठीको उद्घाटन गर्दै मन्त्री कार्कीले मुलुकलाई समृद्धितर्फ लैजान करदाताको संख्या वृद्धि गर्नुपर्ने र त्यसका लागि निजी क्षेत्र, व्यवसायी र कर प्रशासनबीच समन्वयको आवश्यकता रहेको बताउनुभयो ।

नीतिगत सुधारका कारण अर्थतन्त्रमा सकारात्मक प्रभाव परेको बताउँदै उहाँले सन् २०३० सम्म मध्यम आय भएको राष्ट्रमा मुलुकको स्तरोन्नतिको लागि कर कानुनको कडा रुपमा परिपालना र प्रभावकारी अनुगमन गर्न निर्देशन दिनुभयो ।

गोष्ठीमा अर्थराज्यमन्त्री उदयशम्शेर राणाले करदातालाई कर तिर्ने सहज वातावरणको सिर्जना गर्न विभागका कर्मचारीलाई निर्देशन दिँदै करदाताले बिल जारी गर्दा केन्द्रीय सिस्टममा तुरुन्तै देखिने पद्धतिको विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

अर्थसचिव डा शान्तराज सुवेदीले विगतमा गरिएका घोषणापत्रका प्रतिबद्धता कति पूरा भए ? त्यसबाट कति नतिजा प्राप्त भयो ? व्यवस्थापन गोष्ठीमा समीक्षा गर्न निर्देशन दिनुभयो । उहाँले व्यवसाय घाटा हुँदा कर तिर्न नपर्ने नियम भएकाले व्यवसायले नाफा लुकाउने, छल्ने काम गरेकामा चिन्ता व्यक्त गर्नुभयो ।

राजश्व सचिव शिशिरकुमार ढुंगानाले गत साउन महिनाको राजस्व संकलनको अवस्था सन्तोषजनक नरहेको बताउँदै कसरी लक्ष्यभन्दा बढी संकलन गर्न सकिन्छ भन्नेतर्फ अग्रसर हुन निर्देशन दिनुभयो ।

महालेखा नियन्त्रक राजेन्द्रप्रसाद नेपालले व्यवस्थापन गोष्ठीले पाँच हजारभन्दा माथिको भुक्तानी दिँदा प्यान नम्बर दर्ता गरेर मात्र भुक्तानी गर्ने व्यवस्था गरिएको जानकारी दिनुभयो ।

आन्तरिक राजस्व विभागका महानिर्देशक किशोरजंग कार्कीले विभागले प्रत्येक वर्ष आयोजना गर्दै आएको व्यवस्थापन गोष्ठीले राजस्व प्रशासन र कर प्रणालीमा भए गरेका कार्यहरुको विस्तृत रुपमा लेखाजोखा गर्ने, मूल्यांकन तथा समीक्षा गर्ने र आगामी वर्षको लागि कार्ययोजना बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । गोष्ठी बुधबारसम्म चल्नेछ । रासस