काठमाडौँ, २० भदौ । पिपी प्रसाईं फाउण्डेसनले पिपी प्रसाईं टुरिजम लाइफटाइम अचिभमेन्ट अवार्ड पर्यटन व्यवसायी कर्ण शाक्यलाई प्रदान गरेको छ ।
यसैगरी पिपी प्रसाईं राष्ट्रिय उत्कृष्ट शिक्षक पुरस्कार दुर्गाप्रसाद पाण्डेलाई तथा उत्कृष्ट शिक्षक पुरस्कार हेमकुमार खड्का, जानुका नेपाल, देवेन्द्रबहादुर खत्री, चण्डीप्रसाद पाण्डे, चन्द्रा भण्डारी र गंगा भण्डारीलाई प्रदान गरेको छ ।
पिपी प्रसाईं राष्ट्रिय उत्कृष्ट शिक्षक पुरस्कारको राशी रु ५० हजार तथा उत्कृष्ट शिक्षक पुरस्कारको राशी रु २५ हजारसहित कदरपत्र छ ।
यहाँ आज आयोजित कार्यक्रममा उपप्रधान एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठले उहाँहरुलाई सम्मान तथा पुरस्कार प्रदान गर्नुभयो ।
सो अवसरमा उपप्रधान एवं शिक्षामन्त्री श्रेष्ठले मुलुकमा पर्यटन क्षेत्रको विकास र गुणस्तरीय शिक्षाका माध्यमबाट शैक्षिक सुशासन कायम गर्न प्रसाईंले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो ।
शिक्षा प्राप्त गर्ने सबै नागरिकको मौलिक अधिकार भएको बताउँदै उहाँले सबै तहको शिक्षाको गुणस्तर वृद्धि गरी स्वदेशी शिक्षालाई व्यावसायिक बनाएर अन्तर्राष्ट्रिय तहमा प्रतिस्पर्धात्मक बनाउनुपर्ने खाँचो रहेको औँल्याउनुभयो ।
पर्यटन व्यवसायी कर्ण शाक्यले मुलुकमा प्रकृतिले पर्याप्त स्रोत र साधन उपलब्ध गराएको भए पनि त्यसको समुचित व्यवस्थापन गर्न नसकेका कारण हामीले आर्थिक समृद्धि प्राप्त गर्न नसकेको विचार व्यक्त गर्नुभयो ।
फाउण्डेसनका अध्यक्ष शिखर प्रसाईंले पर्यटन व्यवसायी प्रजापति प्रसाईंको ग्रामीण क्षेत्रसम्म शिक्षा र पर्यटनको विकास गर्ने सपनालाई साकार बनाउन यो संस्था विसं २०६७ मा स्थापना गरिएको जानकारी दिनुभयो । प्रजापति प्रसाईंको विसं २०५६ भदौ २० गते हवाई दुर्घटनामा परी निधन भएको थियो । रासस
