मङ्गलबार, बैशाख ०८, २०८३

चुनावकै मुखमा मधेशमा राजपा र नयाँ शक्तिलाई माओवादीको धक्का

काठमाडौँ । साउन २७ गतदेखि भदौ १९ गतेसम्म माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उनकै पार्टीको शब्दमा ‘हजारौँ’ मधेशी नेता तथा कार्यकर्तालाई आफ्नो पार्टीमा प्रवेश गराएका छन् । यो प्रवेश स्थानीय तहमा दुई नम्बर प्रदेशमा माओवादीलाई पहिलो पार्टी बनाउने प्रचण्डको महत्वकांक्षासँग र असन्तुष्टहरुलाई माला लगाउने माओवादी योजनासँग जोडिएको छ ।

यति हुँदा हुँदै पनि आखिर चुनावको मुखमा किन मधेशी नेताहरु धमाधम माओवादीमा प्रवेश गरेका छन् ? सप्तरीदेखि पर्सासम्म, पेरिडाँडादेखि लाजिम्पाटसम्म जतापनि प्रचण्डले मधेशी नेतालाई पार्टीमा भित्र्याएको देख्दा टिप्पणी हुन थालेको छ – प्रचण्डलाई साँच्चै ‘मधेशसँग लभ परेको हो कि क्या हो’ । प्रचण्डले केही समय अगाडि आफ्नो मधेशसँग ‘लभ’ परेको बताएका थिए ।

हुन त यसअघि पनि माओवादीमा मधेशी नेताहरु प्रवेश नगरेका होइनन्, तर चुनावैको मुखमा जुनस्तरका मधेशी नेताहरु माओवादीमा प्रवेश गरेका छन्, त्यसले सहजै अनुमान लगाउन सकिन्छ मधेशमा प्रचण्डले गरेको कसरतको नतिजा देखिएको छ ।

मधेशवादी दलदेखि नयाँ शक्तिका प्रभावशाली नेताहरु माओवादीमा प्रवेश गरेका छन् । जसले स्थानीय तहको चुनावमा मात्र होइन, संसदीय चुनावमा प्रभाव पार्ने हैसियतमा राख्छन् मधेशमा ।

र, यो पार्टी प्रवेशले सबभन्दा ठूलो धक्का नयाँ शक्ति नेपाल र राजपा नेपाललाई लागेको छ । हुन त लोकतान्त्रिक फोरम, एमाले, राप्रपा, काँग्रेसका मधेशी नेताहरु माओवादीमा प्रवेश गरेका छन् तर त्यसले ती दलहरुलाई खासै प्रभाव पारेको छैन ।

राजपा नेपालको किल्ला मानिएको सर्लाहीमा माओवादी केन्द्रले ठूलो धक्का दिएको छ । चुनावी मतको हिसाब गर्ने हो भने सर्लाहीमा माओवादी कमजोर थियो । दोस्रो संविधानसभा चुनावमा जिल्लाबाट २६ हजार ९२ मत मात्र ल्याएको थियो, जब कि सर्लाहीमा दुई लाख ६१ हजार ८९१ मत खसेको थियो । त्यसमध्ये राजपा नेपालमा हाल आबद्ध रहेका छवटा दल मिलाएर ९१ हजार नौसय ९२ मत ल्याएको थियो ।

त्यसमध्ये शिवपुजन राय यादवले एक्लैले १० हजार ३६५ मत ल्याएका थिए । उनी भदौ १९ गते माओवादीमा प्रवेश गरेका छन् । पहिलो संविधानसभामा राजपा नेपालका संयोजक महन्थ ठाकुरलाई हराएका शिवपुजन दोस्रो संविधानसभामा हारेका हुन्, तर उनको मत महन्थ ठाकुरभन्दा बढी छ ।  उनीसँग जिल्लाभरि सैयौँ कार्यकर्ता प्रवेश गरेको माओवादीले दावी गरेको छ ।

उनीसँगै राजपा नेपालका केन्द्रीय सदस्य रामबाबु दास, रामएकवाल राय यादव, जिल्लाका उपाध्यक्ष महेन्द्र प्रसाद यादवलगायतले पनि प्रवेश गरेका छन् ।

त्यस्तै, फोरम लोकतान्त्रिकका वरिष्ठ उपाध्यक्ष रामेश्वर राय यादव पनि सर्लाहीका प्रभावशाली नेता नै मानिन्छन् । उनले पनि दोस्रो संविधानसभा चुनावमा सात हजार ४८३ मत ल्याएर हारेका हुन् । सर्लाहीका यी दुई जना नेता माओवादीमा प्रवेश गरेपछि राजपा नेपालका लागि ठूलो चुनौति बनेको छ ।

मधेशमा नयाँ शक्तिका खम्बा मानिएका रामचन्द्र झा, रामकुमार शर्मा, महेन्द्र पासवानलगायतका नेताहरु पनि माओवादीमा प्रवेश गरेका छन् । उनीहरु पनि आ–आफ्नो जिल्लामा प्रभावकारी नेताको रुपमा गनिन्छन् । महेन्द्र पासवान सिरहाको पाँच नम्बर क्षेत्रबाट पहिलो संविधानसभा चुनावमा १२ हजार ११० मत ल्याएर जितेका थिए तर दोस्रो संविधानसभामा उनले प्रचण्डलाई जिताएका हुन् ।

रामकुमार शर्मा पहिलो संविधानसभा चुनावमा महोत्तरीको क्षेत्र नम्बर चारवाट नौहजार ५६४ मत ल्याएर जितेका थिए । दोस्रो संविधानसभा चुनावमा आफूले चुनाव लडेका थिएनन् आफ्ना श्रीमती इन्दु शर्मालाई चुनाव लडाएका थिए उनले पनि दुई हजार ७५७ मत ल्याएकी थिइन् । तर, उनी पराजित भएकी हुन् ।

रामचन्द्र झा पनि धनुषाका प्रभावशाली नेता हुन् । उनी पनि पहिलो संविधानसभाामा धनुषाको एक नम्बर क्षेत्रबाट १२ हजार १८३ मत ल्याएर एमालेबाट चुनाव जितेका थिए । पछि उनी माओवादी केन्द्रमा प्रवेश गरेका थिए र दोस्रो संविधानसभा चुनावमा पाँच हजार ३१० मत प्राप्त गरेर हारेका थिए ।

यी उदाहरणहरु मात्र हुन् । चुनावमा प्रभावपार्ने खालका थुप्रै नेताहरु प्रवेश गरेका छन्, जसले माओवादीका अध्यक्ष प्रचण्डलाई उत्साहित बनाएको छ ।

नेपाल सद्भावना पार्टीका (हाल राजपामा सामेल) संस्थापक महामन्त्री अनिस अन्सारी पनि भदौ १३ गते माओवादी पार्टीमा प्रवेश गरेका हुन् । सप्तरीमा उनलाई प्रभावशाली नेतामध्येमा गणना हुन्छ । उनी अहिले माओवादीको तर्फबाट राजविराज नगरपालिकाका लागि मेयरका उम्मेदवार हुन् । पूर्वमन्त्री रहिसकेका अन्सारीका कारण सप्तरी माओवादीका लागि झनै राम्रो भएको दावीहरु भइरहेको छ । पहिलो संविधानसभा चुनावमा क्षेत्र नं. ३ बाट छ हजार नौसय २१ मत ल्याएका थिए । त्यतिबेला उनले तत्कालिन तमलोपाबाट चुनाव लडेका थिए तर सद्भावना पार्टीका महेश यादवले उनलाई हराएका थिए । त्यस्तै, दोस्रो संविधानसभा चुनावमा पनि उनी हारेका तर त्यसबेला पनि तीनहजार पाचसय ९५ मत ल्याएका थिए ।

भदौ १५ गते रौतहटको गरुडामा भएको कार्यक्रममा राजपा नेपालका केन्द्रीय सदस्य तथा रौतहटका जिल्ला अध्यक्ष शेरनुरल होदा, जिल्ला उपाध्यक्ष मायादेवी जैसवाललगायत नेता तथा कार्यकर्ताहरु माओवादीमा प्रवेश गरे । त्यस्तै, भदौ १९ गते नै राजपा नेपालका केन्द्रीय सदस्य योगानन्द चौहान पनि पार्टी प्रवेश गरे । भदौ १८ गते राजपा नेपालका केन्द्रीय सदस्यहरु चेतनारायण महतो, सिताराम महतोलगायतका नेता तथा कार्यकर्ताहरु पनि प्रवेश गरे ।रातोपाटीमा खबर छ