शुक्रबार, चैत १६, २०८०

थिमिका सबै वडामा योग साधना केन्द्र

भक्तपुर, १८ भदौ । मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले थिमिका प्रत्येक वडामा योग साधना केन्द्र निर्माण गर्ने घोषणा गर्नुभएको छ ।

आज शंखधर योग साधना केन्द्रको पाँचौ वार्षिकोत्सवका अवसरमा उहाँले थिमिका बासिन्दालाई मानसिक तथा शारीरिक रुपमा योगको माध्यमबाट निरोगी बनाउन नौवटै वडामा योग साधना केन्द्र निर्माण गरिने घोषणा गर्नुभएको हो ।

साधना केन्द्र निर्माणका लागि नगरपालिकाले आवश्यक बजेट विनियोजन गर्ने उहाँको भनाइ छ । उहाँले बोडेको गुम्बालाई प्रक्रियागत तथा नियमसंगत रुपमा निर्माण गर्नका लागि रु ५० लाख विनियोजन गरिएको बताउनुभयो ।

कार्यक्रममा नगरप्रमुख श्रेष्ठ, वडाध्यक्ष कुमार श्रेष्ठ, जिल्ला समन्वय समिति सदस्य उमेश श्रेष्ठ, रामकेशरी श्रेष्ठ, सुन्दरलाल श्रेष्ठ, योग गुरु नानीमैया थापा, पुष्प बज्राचार्य र पाँचजना योग साधकलाई सम्मान गरिएको थियो । रासस