काठमाडौं,१४ भदौ । चाबहिल मालपोत कार्यालयका १० कर्मचारीसहित ५४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा बुधबार मुद्दा दर्ता गरेको हो । एक जनाविरुद्ध औसतमा १८ लाख रुपैयाँ विगो कायम गरी मुद्दा दायर भएको स्रोतले बतायो ।
कर्मचारीसमेतको मिलेमतोमा जग्गा किर्ते गरी उपत्यकाका साविकका गोठाटार, बालुवा, मुलपानी, विष्णु गाविस लगायतका स्थानका विभिन्न जग्गाहरूको गैरकानूनी श्रेस्ता तयार गरी उनीहरूले बिक्री वितरण गरेको अख्तियारले जनाएको छ ।
जग्गा किर्तेमा संलग्न भनिएका कर्मचारीहरूमा मालपोत अधिकृत चेतनाथ ढकाल र तिर्खाराम अर्याल, कम्प्युटर अधिकृत प्रमोद भट्टराई, तत्कालिन नायब सुब्बाद्वय भोजराज पोखरेल र रामबाबु प्रसाद अर्याल छन् । त्यस्तै, अन्य कर्मचारीहरुमा नायब सुब्बा सुन्दर कुमार कार्की, उमेश पोखरेल र शिवराम पुडासैनी तथा कम्प्युटर अपरेटर लक्ष्मण प्रसाद खतिवडा र खरिदार दिव्यराज घिमिरे छन् ।
ती कर्मचारीहरुले आपसी मिलेमतोमा गैरकानूनी ढंगले श्रेस्ता खडा गरी, कार्यालयमा रहेको दर्ता बाँकी श्रेस्ता केरमेट तथा प्रमाणित गरी, कार्यालयबाट बैधानिक रुपमा निर्णय नै नभएका जग्गाहरुको विवरण ठीक देखाएर किर्ते गरेको अख्तियारले जनाएको छ ।
