बीबीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो प्रमुख व्यापार नीतिलाई अघि बढाउँदै चीन, युरोपेली संघ (ईयू) सहित १४ व्यापारिक साझेदारबाट आयात हुने वस्तुमा नयाँ भन्सार शुल्क लगाउने प्रस्ताव गरेका छन् ।
प्रस्तावित शुल्कले अमेरिकाका प्रमुख व्यापारिक साझेदार चीन, ईयू, जापान, दक्षिण कोरिया, ताइवान, भारत, भियतनाम, बंगलादेश, थाइल्यान्ड, कम्बोडिया, मलेसिया, इन्डोनेसिया, सिंगापुर र स्विट्जरल्यान्डलाई प्रभावित पार्नेछ ।
प्रस्तावअनुसार चीनबाट आयात हुने वस्तुमा अधिकतम ४० प्रतिशतसम्म शुल्क लाग्न सक्नेछ भने भियतनाममाथि ३५ प्रतिशतसम्म शुल्क प्रस्ताव गरिएको छ । अन्य व्यापारिक साझेदारमाथि २० वा २५ प्रतिशत शुल्क लगाउने प्रस्ताव गरिएको छ । यद्यपि, ट्रम्प प्रशासनसँग भएका केही सम्झौता तथा शुल्क सीमाका कारण कतिपय देशले प्रस्तावित दरभन्दा कम शुल्क सामना गर्नुपर्ने हुन सक्छ ।
अमेरिकी सर्वोच्च अदालतले ट्रम्पले यसअघि घोषणा गरेको ‘लिबरेसन डे’ शुल्कलाई गैरकानुनी ठहर गरेपछि ह्वाइट हाउसले गत मार्चदेखि विभिन्न देशका व्यापारिक अभ्यासबारे अनुसन्धान सुरु गरेको थियो ।
त्यसै अनुसन्धानको आधारमा अमेरिकी व्यापार प्रतिनिधि कार्यालय (यूएसटीआर)ले प्रस्तावित शुल्कसँगै अमेरिकी व्यापारमा ती देशका व्यापारिक नीतिले पार्ने प्रभावबारे विस्तृत प्रतिवेदन सार्वजनिक गरेको हो ।
प्रस्तावित शुल्क तत्काल लागू हुने छैनन् । आगामी वर्षदेखि लागू गर्ने लक्ष्य राखिएको शुल्क प्रस्ताव सार्वजनिक परामर्श र आवश्यक परे सुनुवाइ प्रक्रियाबाट गुज्रनुपर्नेछ ।
भन्सार शुल्क आयातित वस्तुमा लगाइने कर हो । सामान्यतया वस्तुको मूल्यको निश्चित प्रतिशतका आधारमा शुल्क निर्धारण गरिन्छ र आयात गर्ने व्यवसायीले सरकारलाई भुक्तानी गर्छन् ।
अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रियरले नयाँ शुल्कले अमेरिकी श्रमिकका लागि प्रतिस्पर्धाको मैदान समान बनाउने र विश्व अर्थतन्त्रलाई थप दिगो मार्गमा अघि बढाउने बताएका छन् ।
उनले अमेरिकाका धेरै व्यापारिक साझेदारले दशकौँदेखि उत्पादन क्षेत्रलाई लक्षित गर्ने औद्योगिक रणनीति, ज्याला तथा श्रम दमन र बजारलाई विकृत बनाउने अन्य अभ्यास अपनाउँदै अमेरिकी व्यापारिक हितलाई कमजोर बनाएको आरोप लगाए ।
तर, अर्थशास्त्रीहरूले शुल्क बढाउँदा आयात लागत बढ्ने र व्यवसायीले उक्त लागत उपभोक्तामा हस्तान्तरण गरेमा महँगी बढ्न सक्ने चेतावनी दिएका छन् । उनीहरूले उच्च व्यापार अवरोधले विश्वव्यापी व्यापारसमेत प्रभावित हुन सक्ने बताएका छन् ।
ट्रम्पले आफ्नो दोस्रो कार्यकालमा अमेरिकी उत्पादन वृद्धि र रोजगारी सिर्जनाको लक्ष्य भन्दै पटकपटक भन्सार शुल्क लगाएका छन् वा लगाउने चेतावनी दिएका छन् । मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीको कमजोर प्रदर्शनपछि पनि उनले आफ्नो प्रमुख व्यापार नीतिलाई निरन्तर अघि बढाइरहेका छन् ।

