शुक्रबार, बैशाख ०७, २०८१

चुस्त संगठन निर्माणतर्फ आफू केन्द्रित छु : अध्यक्ष प्रचण्ड

विराटनगर,१३ भदौ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले माओवादी केन्द्रमा माथिबाटै घटुवाको प्रारम्भ गरेको बताएका छन् । १ नम्वर प्रदेशको पार्टी प्रशिक्षणमा बोल्दै अध्यक्ष प्रचण्डले पार्टी संगठन भद्रगोल हुँदा क्षति पुगेकाले चुस्त संगठन निर्माणतर्फ आफू केन्द्रित भएको बताए ।

‘हामीले विचार, राजनीति र नेतृत्वमा त जित्यौं । तर, संगठन र चुनावी परिणाममा जित्न सकेनौं’, प्रचण्डले भने, ‘त्यसको मुख्य कारण भद्रगोल संगठन हो । अब हामीले माथिबाटै घटुवाको प्रारम्भ गरेका छौं । हिजो मात्रै केन्द्रीय कार्यालयलाई भङ्ग गरेर सचिवालयलाई कार्यकारी बनाएका छौं, अब चुस्त संगठन बनाएर अघि बढ्छौं ।

प्रचण्डले पार्टीबाट अलग भएका मोहन वैद्य किरण, बाबुराम भट्टराई, विप्लवलगायत समूहलाई जनताले अस्वीकृत गरेको भन्दै पार्टीमा नफर्किए भविष्य समाप्त हुने ठोकुवा गरे । ‘माओवादी केन्द्रबाट अलग हुने शक्तिहरुलाई जनताले रुचाएनन् । वैद्यजी, विप्लवजी, बाबुरामजी पनि चुनावमा जानुभयो, जनताले माओवादी केन्द्रमै जाउ भन्ने जनमत दिए’, प्रचण्डले भने, ‘हामीलाई पनि तिमीहरुले अहङ्कार नगर, सबैलाई मिलाऊ भन्ने जनमत दिए । धेरै साथीहरु आई पनि सक्नुभएको छ, अब नेताहरु पनि आउनुपर्छ, नत्र उहाँहरुको पनि भविष्य छैन ।

माओवादीका कारण देशको एकता र समृद्धि सम्भव भएको भन्दै प्रचण्डले अगाडि थपे – एकभरि मान्छेहरु माओवादीले बिगार्न र भत्काउन मात्र सिपालु छ भन्ने ठान्थे । तर, हामीले १० महिनामा त्यो भ्रमलाई पुरै गलत साबित गर्यौं । हामीले देशलाई एकतावद्ध गर्यौं, हिमाल, पहाड र मधेशलाई मिलायौं । छिमेकीसँग सन्तुलित सम्बन्ध बनायौं, संविधान कार्यान्वयन गर्यौं, स्थानीय तह बनायौं, चुनाव गर्यौं । आर्थिक समृद्धि गुणात्मक स्थानमा पुग्यो, मूल्यवृद्धि रोकियो, लोडसेडिङ हट्यो, विकास आयोजनाहरुले गति लिए, यो सामान्य कुरा हुँदै होइन । प्रचण्डले मधेसमा माओवादीको लहर आएको समेत दावी गरे ।