काठमाडौं । संगीतमार्फत मनोरञ्जनसँगै मानवीय सहयोगको सन्देश फैलाउने उद्देश्यले ‘स्याटर्डे भाइब्स’ (Saturday Vibes) सांगीतिक कार्यक्रम आयोजना हुने भएको छ। गोदावरी इन्टरटेन्मेन्ट मिडिया हाउस प्रा.लि.को आयोजनामा तथा राज फाउन्डेसनको सहकार्यमा हुन लागेको उक्त कार्यक्रमबाट संकलित रकम रसुवाका बाढीपीडितको सहयोगमा खर्च गरिने जनाइएको छ।
आगामी कात्तिक २१ गते शनिबार आयोजना हुने कार्यक्रममा नेपाली संगीत क्षेत्रका कलाकारहरूले आफ्नो प्रस्तुति दिनेछन्। कार्यक्रममा र्यापर Shadow G, र्यापर YJ र एडेन, गायिका रमिता भण्डारी तथा द हुलाकी ब्यान्डको प्रस्तुति रहनेछ। साथै, शिवगण ब्यान्डले आफ्नो डेब्यु प्रस्तुति दिने कार्यक्रम रहेको छ। कार्यक्रममा सेसेमी लिम्बूले होस्टको भूमिका निर्वाह गर्नेछिन्। संगीत, एकता र शान्तिलाई जोड दिँदै आयोजना हुन लागेको कार्यक्रमले सांगीतिक मनोरञ्जनसँगै विपद् प्रभावित समुदायलाई सहयोग पुर्याउने लक्ष्य राखेको छ।
कार्यक्रमको प्रवेशद्वार साँझ ७ बजे खुल्नेछ भने टिकट शुल्क प्रतिव्यक्ति एक हजार रुपैयाँ तोकिएको छ। कार्यक्रमको भेन्यु पार्टनर एलओडी नेपाल रहेको छ भने हाम्रो अनलाइन स्टोर, चिल घर र न्युरोड कराओकेले सहयोग गरेका छन्।
रसुवामा बाढीबाट प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यले आयोजना हुन लागेको यस कार्यक्रमले सामाजिक उत्तरदायित्व र मानवीय सेवामा संगीतको भूमिकालाई जोड्ने अपेक्षा गरिएको छ। मनोरञ्जनका लागि सहभागी हुने दर्शकले समेत बाढीपीडितको सहयोगमा योगदान दिन सक्ने भएकाले कार्यक्रमलाई परोपकारी सांगीतिक अभियानका रूपमा हेरिएको छ।

