बिहिबार, असार ११, २०८३

एनआईसी बैंकले २०औं वार्षिैक साधारण सभा गर्ने

काठमाडौं,१२ भदौ । एनआईसी एशिया बैंकले यहि २०७४ भाद्र ३० गते २० औं वार्षिैक साधारण सभाको आयोजना गर्ने भएको छ । यो सँगै आ.व. २०७३÷७४ को लागि सबैभन्दा अगाडि बोलाउने पहिलो बैंक भएको छ ।

उक्त साधारण सभामा अन्य प्रस्तावका साथै २० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ १.०५ प्रतिशत नगद लाभांस गरी जम्मा २१.०५ प्रतिशत लाभांस वितरण गर्ने प्रस्ताव निर्णयार्थ पेस गरिने बैंकले जनाएको छ ।

गत आर्थिक बर्षमा समग्र बाणिज्य बैंकको निक्षेप र कर्जा बृद्धि क्रमशः १० प्रतिशत र २० प्रतिशत रहेकोमा यस बैंकले निक्षेपतर्फ २५ प्रतिशत र कर्जातर्फ २२ प्रतिशतको बृद्धि हासिल गरी समग्र बजार भन्दा उच्चस्तरको र उत्साहपूर्ण परिणाम हासिल गरेको छ । यसैगरी समग्र वाणिज्य बैंकहरुको गत बर्षको कुल निक्षेपमा यस बैंकको ३.७९ प्रतिशतको बजार हिस्सालाई सुधार गर्दै यस बर्ष ४.१५ प्रतिशतको बजार हिस्सा ओगट्न बैंक सफल भएको छ ।

साथै, गत आर्थिक बर्षको समग्र वाणिज्य बैंकहरुको कुल निक्षेप बृद्धिमा बैंकले ६.७ प्रतिशत हिस्सा ओगट्न समेत बैंक सफल भएको छ । बैंकले आफ्ना सेवाग्राहीको हितलाई मध्यनजर गर्दै कर्जा तथा बचत योजनाहरु सञ्चालन गरिरहेको जनाएको छ ।

बैंकले आफ्ना बचतकर्ताहरुलाई बचत खातामा ९ प्रतिशतसम्म ब्याजदर प्रदान गर्दै आएको छ जुन नेपाली बैंकिङ्ग क्षेत्रकै उत्कृष्ट र आकर्षक ब्याजदर भएको बैंकले दावी गरेको छ । यसैगरी बैंकले हालै मात्र सेयर धितो कर्जा प्रवाहलाई समेत निरन्तरता दिने निर्णय गरेको छ ।