बिहिबार, असार ११, २०८३

प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा उत्साहजनक सहभागिता हुने

काठमाडौं,११ भदौ । आगामी मंसिर १० गते हुने प्रदेश सभा र प्रतिनिधि सभा सदस्य निर्वाचनमा दलहरूको उत्साहजनक सहभागिता हुने भएको छ । भदौ ११ गते आइतबार अर्थात् दल दर्ताका लागि एक दिन बाँकी हुँदा निर्वाचन आयोगमा दल दर्ता गर्ने राजनीतिक दलको सङ्ख्या ६४ पुगेको छ ।

आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार, व्यवस्थापिका–संसदमा रहेका शेरबहादुर देउवा सभापति रहेको सत्तारुढ नेपाली काँग्रेस र उपप्रधानमन्त्री विजयकुमार गच्छदार अध्यक्ष रहेको मधेसी जनअधिकार फोरम (प्रजातान्त्रिक), उपेन्द्र यादव अध्यक्ष रहेको संघीय समाजवादी फोरम नेपाल, कमल थापा अध्यक्ष रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी, पुशपति शमशेर जबरा अध्यक्ष रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) र विश्वेन्द्र पासवानले नेतृत्व गरेको बहुजन शक्ति पार्टी नेपाल लगायतले भने दल दर्ता गर्न बाँकी छ ।

प्रवक्ता शर्माका अनुसार नेकपा एमाले, नेकपा माओवादी केन्द्रलगायतका दलले भने यसअघि नै आयोगमा दल दर्ता गराइसकेका छन् । कांग्रेसले प्रदेश सभा र प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका लागि पार्टीले आइतबार निर्वाचन आयोगमा दल दर्ता गराउने छ ।

स्थानीय तह निर्वाचनमा ८० राजनीतिक दलले दर्ता गराएकामा जम्मा १४ वटा दलका उम्मेदवार मात्रै विजयी भएका थिए । @ गोरखापत्र दैनिक