सोमबार, असोज १९, २०८३

गाेदावरी कुण्ड पाँच धारामा चार धर्मगुरुको एउटै प्रार्थना-दिवंगत आत्माको चिरशान्ति र घाइतेको शीघ्र स्वास्थ्यलाभ

गोदावरी । धर्म फरक–फरक, आस्था फरक–फरक। तर प्रार्थनाको उद्देश्य एउटै—मानवता, शान्ति र सद्भाव। गोदावरीमा पहिलोपटक हिन्दु, बौद्ध, मुस्लिम र क्रिश्चियन धर्मका धर्मगुरुहरू एउटै स्थान गोदावरी कुन्ड पाँच धारामा भेला भएर सामूहिक दीप प्रज्वलन गरेका छन्।

गोदावरी नगरपालिका वडा नं. ३ को आयोजनामा भएको सामूहिक दीप प्रज्वलन कार्यक्रममा चारै धर्मका धर्मगुरुले एकैसाथ दीप प्रज्वलन गर्दै रसुवा बाढीमा ज्यान गुमाएकाहरूकाे आत्माको चिरशान्तिको कामना गरेका छन् । भदौ १० गते रसुवाको भोटेकोसी तथा त्रिशूली नदीमा आएको बाढी र पहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ। साथै बेपत्ताको सकुशल उद्धार र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

त्यसैगरी, जेनेरेसन–जेड अर्थात् Gen Z आन्दोलनका क्रममा सहादत प्राप्त गरेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनीहरूको आत्माको शान्तिका लागि प्रार्थना गरिएको थियो।

प्राकृतिक विपत्तिमा परी घाइते भएका सम्पूर्ण नेपालीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै पनि सामूहिक प्रार्थना गरिएको छ।कार्यक्रममा हिन्दु, बौद्ध, मुस्लिम र क्रिश्चियन धर्मका धर्मगुरुहरू एउटै स्थानमा बसेर दीप प्रज्वलन र प्रार्थना गर्दै गरेको दृश्यले धार्मिक सहिष्णुता र सामाजिक एकताको अनुपम सन्देश दिएको थियो।

चार फरक धर्मका धर्मगुरुहरू एउटै स्थानमा भेला भएर दिवंगत आत्माको शान्ति र घाइतेहरूको स्वास्थ्यलाभका लागि सामूहिक प्रार्थना गरिएको यो गोदावरीको इतिहासमै पहिलो कार्यक्रम भएको वडा अध्यक्ष राज घिमिरेले जानकारी दिए । यसैगरि, आगामी दिनमा वडाले सबै धर्म,वर्ग र समुदायलाई जोड्ने अन्य धेरै कार्यक्रमहरु गर्दै जाने बताए ।

धर्म फरक भए पनि मानवताको भावना एउटै हुन्छ भन्ने सन्देश दिँदै कार्यक्रमले ‘आस्था फरक हुन सक्छ, तर दुःखमा सबै नेपाली एक हुन्छौँ’ भन्ने भावलाई अझ बलियो बनाएको छ।कार्यक्रममा सहभागीहरूले धार्मिक विविधताबीचको एकता, आपसी भाइचारा र सद्भावलाई मजबुत बनाउन यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताएका छन्। कार्यक्रममा,विभिन्न क्लब,कोष,आमा समूह,महिला समुहहरु, बुद्धि जिबी,नागरिक समाज र सबै धर्मका अनुयायीहरुकाे हजारौको संख्यामा उपस्थिति रहेकाे थियाे ।