रामेछाप,१० भदौ । गृहराज्यमन्त्री श्यामकुमार श्रेष्ठले पर्यटकका भेषमा नेपालमा आईएस भित्रिरहेको हुन सक्ने बताएका छन् । उनले नेपालमा पर्यटक भित्र्याउने संयन्त्र नहुँदा आपराधिक मनोवृत्तिका विदेशी पर्यटकका रुपमा भित्रिरहेको हुनसक्ने आशंका व्यक्त गरे ।
प्रेस सेन्टर रामेछापले सदरमुकाम मन्थलीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै श्रेष्ठले भने, ‘विदेशी पर्यटकका रुपमा कस्ता मान्छेहरु नेपाल आउँछन् भन्ने हेर्ने मेकानिजम हामीसँग छैन । यसको उपयोग गर्दै आईएसका लडाकुहरु नेपालमा भित्रिएका हुनसक्छन् ।उनीहरुलाई आतंकवादी गतिविधि सञ्चालन गर्ने थलो नेपाल बन्न सक्छ ।
नेपालमा अध्यागनमनको पाटो अति कमजोर रहेको बताउँदै श्रेष्ठले नेपाल आतंकारीहरुको खेल खेल्ने थलो हुन सक्ने बताए । यही समस्याको समाधानको लागि अध्यागमनसम्बन्धी विधेयक आवश्यक रहेको उनले बताए । देशलाई आतंकारकीहरुको खेल खेल्ने थलो हुनबाट जोगाउन अध्यागमन विधेयकको मस्यौदा निर्माणको लागि गृह मन्त्रालयले निर्देशन दिइसकेको उनले बताए ।
राज्यमन्त्री श्रेष्ठले आफ्नो कार्यकालमा गृहमन्त्रालयमार्फत अहिलेसम्म हुन नसकेका परिणाममुखी कामहरु गरेर देखाउने प्रतिवद्धता समेत जनाए । उनले गृहमन्त्रालयसँग सम्बन्धित नीतिगत र संरचनागत समस्या फुकाउने र कार्यगत त्रुटिहरुलाई सच्याउने प्रतिवद्धता जनाए ।
श्रेष्ठले विपद् व्यवस्थापनको काननू नै नभएकोले विपदका घटना बढ्दै गएको बताउँदै पूर्वतयारी सहितको विपद् व्यवस्थापन विधेयक छिटोभन्दा छिटो आउने बताए । उनले आफू झण्डा हल्लाउन र फोटो राख्नको लागि मन्त्री नभएको बताउँदै गृह प्रशासन भित्र देखिने गरी काम गर्ने बताए ।
