बीरगञ्ज, १० भदौ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको केन्द्रीय अध्यक्ष मण्डलले निर्वाचनमा सहभागी हुने निर्णय गरेसँगै नेता कार्यकर्ता एक आपसमै भिड्न थालेका छन् ।
केन्द्रमा यो निर्णयविरुद्ध महासचिव मनीष सूमनले फरक मत राखेर विद्रोह गरिरहँदा जिल्लामा कार्यकर्ता टिकटलाई लिएर एकआपसमा भिडेका हुन् ।
यसैक्रममा शुक्रबार पर्सामा राजपाका दुई समुहबीच झडप भएको छ । असोज २ गते हुन लागेको स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा कसले मेयर पद पाउने भन्ने विषयमा झडप भएको हो ।
वीरगञ्ज महानगरपालिकाको मेयर छनौटका विषयमा दुई समूहमा रहेका राजपाका कार्यकर्ताबीच होटेल कुमुमा झडप भएको प्रहरीले जनाएको छ । झडपमा विमल श्रीवास्तव समूहका रामबाबु चौरसिया घाइते भएका छन् ।
उम्मेद्ववार छनौट र चुनावी रणनीतिको विषयमा छलफल गर्न वीरगन्जको होटेल कुमु प्यालेसमा आयोजित राजपाको बैठक अगावै मेयर पदका अकाक्षी उमेद्ववारको रूपमा रहेका राजेशमान सिंह तथा बिमल श्रीवास्तव समूहबीच विवाद भई झडप भएको थियो ।
श्रीवास्तव समूहका कार्यकर्ताले नाराबाजी गर्दा अर्को समूहका कार्यकर्ताहरूले उनलाई धकेलेपछि झडप भएको हो । त्यसक्रममा हलभित्र कुर्सी हानाहान समेत भएको बताइएको छ । झडपपछि राजपाको बैठक स्थगित भएको छ ।
