शुक्रबार, भदौ १२, २०८३

रसुवाका जनप्रतिनिधिको गुनासोः ‘संघीय सरकार आकाशमा देखिन्छ, मैदानमा भएन अनुभूति’

रसुवा । रसुवाको उत्तरगया गाउँपालिकाका अध्यक्ष माधवप्रसाद अर्यालले रसुवामा बाढीबाट ठूलो मानवीय क्षति भए पनि प्रभावित क्षेत्रमा राज्यको उपस्थिति प्रभावकारी रूपमा अनुभूति हुन नसकेको गुनासो गरेका छन् ।

बाढी प्रभावित क्षेत्रमा रहेका अर्यालले बाढीको सूचना जारी गर्न खटिएका चार कर्मचारी अझै बेपत्ता रहेका र सूचना तथा सञ्चार अधिकृत जनक आचार्यको शव पहिचानपछि दाहसंस्कार गरिएको बताएका छन् । कार्यपालिका सदस्य ज्ञानु विक, केही शिक्षक तथा ठूलो संख्यामा स्थानीय बासिन्दासमेत सम्पर्कविहीन रहेको उनले जानकारी दिएका छन् ।

उनका अनुसार वेत्रावती बजार, कैदलेटार, पैरेबेसी, सल्लेटार र मैलुङ क्षेत्रमा ठूलो मानवीय क्षति भएको छ । भूकम्पपछि ११ वर्षदेखि अस्थायी बसोबास गरिरहेका करिब ३०० परिवार पनि बाढीबाट प्रभावित भएका छन् ।

त्रिशूली–३ बी जलविद्युत आयोजनाका कर्मचारी तथा कामदार र माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनामा कार्यरत कोरियन, चिनियाँ, भारतीय र नेपाली कामदार ठूलो संख्यामा हराइरहेको अर्यालले बताएका छन् । केही कामदार सुरुङभित्र फसेको खबर आएको उनको भनाइ छ । गोसाइँकुण्ड तथा मानसरोवर यात्रामा निस्किएका यात्रुहरूसमेत सम्पर्कविहीन रहेको उनले बताएका छन् ।

सडक सम्पर्क पूर्ण रूपमा विच्छेद हुनुका साथै विद्युत् आपूर्ति बन्द भएपछि मोबाइल नेटवर्कसमेत प्रभावित भएको उनले बताए । जसका कारण बेपत्ता तथा प्रभावित नागरिकसँग सम्पर्क गर्न कठिनाइ भइरहेको उनको भनाइ छ ।

अर्यालले मरणासन्न अवस्थामा रहेका घाइतेको उद्धारका लागि प्रधानमन्त्री कार्यालयलगायत सम्बन्धित निकायसँग हेलिकप्टर माग गर्दा पनि समयमै उद्धार हुन नसकेको गुनासो गरेका छन् । एक घाइतेलाई कालिकास्थान–जिवजिवे अस्पताल हुँदै १० घण्टापछि धुञ्चे अस्पताल पुर्याउनुपरेको उनले बताए ।

नदी किनारमा दर्जनौँ शव रहेको र केही शव आफन्तले पहिचान गरिसकेको भए पनि माथिल्लो आदेशबिना अन्त्येष्टि गर्न नसकिएको उनले बताएका छन् । बाढीमा सुरक्षाकर्मीसमेत ठूलो संख्यामा बेपत्ता भएको र बाँकी सुरक्षाकर्मी खाना तथा पानीको अभावमा उद्धारमा खटिरहेको उनले उल्लेख गरेका छन् ।

अर्यालले सामाजिक सञ्जालमा सरकारका गतिविधि देखिएपनि प्रभावित क्षेत्रमा त्यसको प्रत्यक्ष अनुभूति हुन नसकेको टिप्पणी गरेका छन् । ‘संघीय सरकार आकाशमा देखिन्छ, सामाजिक सञ्जालमा देखिन्छ,’ उनले भनेका छन्, ‘मैदानमा जनताले अनुभूति गर्ने गरी काम गर्नुपर्छ।’

उनले आफू आबद्ध नेकपा एमालेका नेताहरूबाट पनि अपेक्षित चासो नदेखाइएको गुनासो गरेका छन् । केन्द्रीय उपाध्यक्ष विष्णु पौडेल र गोकर्ण विष्टबाहेक पार्टीका अन्य नेताले आफूलाई सम्पर्क नगरेको उनले बताएका छन् । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, सुरेन्द्र पाण्डेलगायतले भने चासो र चिन्ता व्यक्त गरेको उनको भनाइ छ ।

गृहमन्त्रीको सचिवालयबाट नकारात्मक प्रचार नगर्न र राजनीति नगर्न आग्रह गर्दै फोन आएको उल्लेख गर्दै अर्यालले प्रभावित क्षेत्रमा सरकारको उपस्थिति प्रभावकारी भएको भए यस्तो आवाज उठाउनुपर्ने अवस्था नआउने बताएका छन् ।

यसमा तपाईको प्रतिक्रिया