काठमाडौं । नेकपा एमालेले भोटेकोशी नदीमा आएको बाढीमा बेपत्ता व्यक्तिहरूको खोजी र उद्धार गर्न, खतरामा परेका मानिसहरूलाई स्थानान्तरण र पुनर्स्थापना गर्न सरकारसँग माग गरेको छ।
आज बसेको सचिवालयको आकस्मिक बैठकपछि अध्यक्ष केपी ओलीले विज्ञप्ति जारी गर्दै घाइतेहरूको तुरुन्तै उपचार गरी थप हताहत हुन नदिन माग गरेका छन्।
विज्ञप्तिमा भनिएको छ, ‘मानवीय र भौतिक क्षतिको विवरण सङ्कलन गर्न विपद् व्यवस्थापनका सम्पूर्ण संयन्त्र, साधन–स्रोत र विकल्पहरू अविलम्ब परिचालन गर्न र तत्कालीन र दीर्घकालीन राहतको प्याकेज घोषणा गर्न नेकपा (एमाले) सरकारसँग जोडदार माग गर्दछ ।’
कठिन परिस्थितिमा सङ्घ, प्रदेश र स्थानीय सरकार, जनप्रतिनिधि, सुरक्षा निकाय, राजनीतिक दल, नागरिक समाज, सामाजिक सङ्घ–संस्था तथा आमनागरिक सबैको एकीकृत सहयोग, समन्वय, सहकार्य र ऐक्यबद्धता अपरिहार्य रहेको उल्लेख छ।
बाढीमा फसेकाहरूको तत्काल उद्धार, घाइतेहरूको निःशुल्क तथा प्रभावकारी उपचार र प्रभावितहरूलाई द्रुत गतिमा राहत सामाग्री उपलब्ध गराउन सबै पक्ष एकजुट हुन अपिल गरेको छ।
पार्टीका नेता, कार्यकर्ता, जनसङ्गठनका सदस्य तथा जनप्रतिनिधिहरूलाई प्रभावित क्षेत्रमा तत्काल खोजी, उद्धार र राहत कार्यमा सक्रिय रूपमा जुट्न, स्थानीय प्रशासन र सुरक्षा निकायसँग आवश्यक समन्वय गर्न तथा मानवीय सहायताका कार्यमा अग्रपङ्क्तिमा रहेर खटिन विशेष निर्देशन दिएका छन्।
सरकारले कुनै पनि बहानामा अलमल नगरी उद्धार कार्यमा तदारुकता देखाउन र विलम्ब नगरी प्रभावित क्षेत्रमा आवश्यक राहत सामाग्री पुर्याउन माग गरेको छ।

