काठमाडौं । गृहमन्त्री सुदन गुरुङले बारामा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि गरिएको जघन्य हत्याको घटनाप्रति गम्भीर चासो व्यक्त गर्दै सरकार निष्पक्ष अनुसन्धानमा जुटिरहेको स्पष्ट पारेका छन् ।
शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत वक्तव्य जारी गरी गृहमन्त्री गुरुङले अबोध छोरीमाथि भएको क्रूर अपराधले आफूलाई अत्यन्त दुःखी र स्तब्ध बनाएको उल्लेख गरेका छन् ।
बालिका गुमाउनुपर्दाको पीडा सम्पूर्ण समाजको भएको भन्दै उनले यस घटनालाई लिएर आमाहरू, महिलाहरू र आम नागरिकमा देखिएको आक्रोशलाई सरकारले पूर्ण रूपमा महसुस गरेको बताए ।
गृह प्रशासन घटनाको पहिलो दिनदेखि नै सक्रिय रहेको दाबी गर्दै उनले विगतका अनुभव तथा कमजोरीबाट पाठ सिक्दै अनुसन्धानलाई अघि बढाइएको जानकारी दिए ।
मन्त्री गुरुङका अनुसार मुख्य आरोपितहरूलाई तत्काल पक्राउ गरी अनुसन्धान जारी राखिएको छ । यसका साथै घटनाको प्रारम्भिक चरणमा प्रहरीबाट भएको भनिएको लापरबाहीबारे समेत छानबिन र कारबाहीको प्रक्रिया अघि बढाइएको उनले स्पष्ट पारे ।
पीडित परिवारको थप जाहेरीका आधारमा अन्य चार जनालाई समेत पक्राउ गरी सोधपुछ भइरहेको गृहमन्त्रीले बताए । दोषीलाई कडा सजायको माग गर्दै नागरिक स्तरबाट उठेको आक्रोश स्वभाविक भए पनि नेपालको संविधान र अन्तर्राष्ट्रिय प्रतिबद्धताका कारण तत्काल मृत्युदण्ड दिने कानुनी अवस्था नरहेको उनले प्रष्ट पारे ।
तर, बालबालिका तथा महिलाविरुद्ध हुने यस्ता गम्भीर अपराधमा कानुनी बाधा हटाउन सरकार गम्भीर रहेको उनले उल्लेख गरे । यसका लागि कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले आवश्यक कानुनी संशोधनको मस्यौदा तयार गरी संसदीय प्रक्रियामा लैजाने तयारी गरिरहेको उनले जानकारी दिए ।
गृहमन्त्री गुरुङले संवेदनशील घटनालाई राजनीतिकरण नगर्न र अपुष्ट सूचनाका आधारमा ‘मिडिया ट्रायल’ नगर्न समेत आग्रह गरे । उनले आम नागरिकलाई आफ्नो आक्रोशलाई न्यायको शक्तिमा बदल्न र कानुनी अनुसन्धानको प्रक्रियालाई सघाउन अपिल गरेका हुन् ।गरिमा हत्याकाण्ड : ‘मृत्युदण्ड तत्काल सम्भव छैन, कानुन संशोधनमा सरकार गम्भीर’गरिमा हत्याकाण्ड : ‘मृत्युदण्ड तत्काल सम्भव छैन, कानुन संशोधनमा सरकार गम्भीर’

