काठमाडौं । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन पूर्वनिर्धारित मितिमै हुने भएको छ।
केन्द्रीय निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काले जारी गरेको प्रेस विज्ञप्तिअनुसार असोज १६ देखि १९ गतेसम्म हुने निर्वाचनको तहगत कार्यतालिका पुनः निर्धारण गरिएको जनाइएको छ।
विज्ञप्तिमा वर्षात्का कारण वडा, गाउँ, नगर, उपमहानगर, महानगरपालिका तथा क्षेत्रीय अधिवेशनमा पर्न सक्ने प्रतिकूल प्रभाव र पार्टीभित्र व्यापक सहभागिताका लागि संवाद तथा सहमतिको वातावरण बनाउन अधिवेशनको तहगत कार्यतालिका पुनः निर्धारण गरिएको हो।
नयाँ कार्यतालिकाअनुसार २०८३ भदौ २४ गते देशभरका ६ हजार ७ सय ४३ वडामा वडा अधिवेशन हुनेछ। सोही क्रममा क्षेत्रीय प्रतिनिधि चयन गरिनेछ।
भदौ २७ गते गाउँरनगरपालिका अधिवेशन, भदौ ३१ गते प्रदेश सभा क्षेत्रीय अधिवेशन र असोज ३ गते प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन तथा एकमात्र निर्वाचन क्षेत्र भएका जिल्लामा जिल्ला अधिवेशन हुने निर्वाचन समितिले जनाएको छ। असोज ३ गते महाधिवेशन प्रतिनिधि चयन तथा सम्बन्धित कार्यसमितिको निर्वाचनसमेत हुनेछ।
त्यस्तै, असोज ७ गते जिल्ला अधिवेशन र असोज १० गते प्रदेश अधिवेशन सम्पन्न गर्ने कार्यतालिका तय गरिएको छ।
यसअघि नै तय भएको केन्द्रीय महाधिवेशन भने असोज १६, १७, १८ र १९ गते काठमाडौंमा सम्पन्न गर्ने निर्णय यथावत् राखिएको छ।
निर्वाचन समितिका अनुसार भदौ २ देखि १० गतेसम्म निर्वाचन प्रतिनिधिलाई अभिमुखीकरण तालिम दिइनेछ भने भदौ ११ गते निर्वाचन अधिकृतहरूलाई जिल्लामा खटाइनेछ। भदौ १५ गते वडामा निर्वाचन प्रतिनिधि खटाउने र भदौ १६ देखि २० गतेसम्म वडा तहमा अभिमुखीकरण तालिम सञ्चालन गरिनेछ।
नेपाली जनसम्पर्क समितिहरूको अधिवेशन भदौ मसान्तभित्र सम्पन्न गरिसक्ने समयसीमा तोकिएको छ।
केन्द्रीय कार्यसमितिको २०८३ साउन २४ देखि भदौ १ गतेसम्म बसेको बैठकले संविधान, प्रचलित कानुन, पार्टी विधान तथा सर्वोच्च अदालतको २०८३ वैशाख ४ गतेको फैसलालाई समेत ध्यानमा राखी महाधिवेशन प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो।

