शनिबार, बैशाख ०८, २०८१

देउवाको अभिव्यक्तिले देशको शीर निहुरिएको ओलीको टिप्पणी

काठमाडौं,९ भदौ । एमाले अध्यक्ष केपी शर्मा ओली भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको अभिव्यक्तिले देशको शीर निहुरिएको टिप्पणी गरेका छन् ।

अध्यक्ष ओलीले संविधान संशोधनलाई लिएर देउवा भारतीय समकक्षीसामू ‘गिडगिडाएको’ आरोप लगाए । नियमित उपचारका लागि बैकक जाने क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै ओलीले देउवाको चर्को आलोचना गरे ।

देउवाले मोदीलाई संविधान संशोधन गर्ने बचन दिएकोमा असन्तुष्टि जनाउँदै ओलीले भने, ‘संसदले गरेको फैसलालाई धज्जी उडाउनु भएको छ । गिडगिडाएर क्षमायाचनाको भाषामा भन्नु भएको छ, प्रभु मैले कोसिस गरेको थिएँ तर सकिँन ।’

देउवाले देशको स्वाभिमानको वास्ता नगरेको र असान्दर्भिक रुपमा संविधान संशोधनको विषय ल्याएको उनको आरोप छ । उहाँको हाउभाउ, अभिव्यक्ति, उहाँले प्रस्तुत गरेका विषयबस्तुले देशकै शीर निहुरिएको छ’ ओलीले भने ।

बिहीबार हैदराबाद हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले दुई तिहाई पुर्‍याएर संविधान संशोधन गर्ने बचन दिएका थिए ।