ललितपुर महानगरपालिका–१७ ग्वार्को चोकस्थित सडकखण्डमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् ।
कोटेश्वरबाट सातदोबाटोतर्फ जाँदै गरेको बा २ ख ३५९० नम्बरको बस एक्कासी फ्लाईओभरको भित्तामा ठोक्किएर अनियन्त्रित भई पल्टिँदा दुर्घटना भएको हो। बसमा अन्दाजी ३० जना सवार रहेका थिए ।दुर्घटनामा दोलखाको सैलुङ गाउँपालिका घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका बस्दै आएकी ४० वर्षीया जेनिशा लामाको मृत्यु भएको छ।
घाइते १८ जनालाई तत्काल उद्धार गरी उपचारका लागि बी एण्ड बी अस्पताल तथा ग्लोबल अस्पताल पठाइएको छ। घाइतेहरूको उपचार भइरहेको छ।दुर्घटनामा संलग्न बसका चालक काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–३ घर भई हाल भक्तपुरको मालपोत क्षेत्रमा बसोबास गर्दै आएका ३६ वर्षीय लक्षु तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।

