मङ्गलबार, साउन १९, २०८३

सरकार आर्थिक समृद्धिको लक्ष्यमा छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले सरकार आर्थिक समृद्धि हासिल गर्ने लक्ष्यका साथ अघि बढिरहेको बताएका छन् ।परराष्ट्र मन्त्रालयमा मंगलबार आर्थिक कूटनीति महाशाखाको आयोजनामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले आर्थिक समृद्धिका लागि अन्तर्राष्ट्रिय सहायता र व्यापार महत्त्वपूर्ण आधार रहेको औंल्याए।

अन्तर्राष्ट्रिय सहायता र व्यापारका क्षेत्रमा नेपालको सहभागिता र लाभलाई थप विस्तार गर्नुपर्ने आवश्यकता रहेको उनले बताए । परराष्ट्रमन्त्री खनालले वर्तमान भूराजनीतिक परिस्थितिबाट सिर्जित चुनौती तथा सीमिततालाई मध्यनजर गर्दै नेपालले आफ्ना प्राथमिकता स्पष्ट पारेर अघि बढ्नुपर्ने बताए ।नेपालले कम विकसित मुलुकको हैसियतमा विभिन्न मुलुकबाट शून्य भन्सार दरको सुविधा पाउँदै आए पनि त्यसबाट अपेक्षित लाभ लिन नसकेको उल्लेख गर्दै उनले विगतमा कहाँ–कहाँ अवसर गुमाइयो भन्ने विषयमा समीक्षा आवश्यक रहेको बताए ।

परराष्ट्रमन्त्री खनालले सबै क्षेत्रमा एकैपटक काम गर्न खोज्दा तथा सीमित स्रोतसाधनलाई सबै क्षेत्रमा परिचालन गर्दा अपेक्षित परिणाम हासिल हुन नसक्ने बताए । त्यसैले विदेशस्थित नेपाली नियोगहरूले कुन विषयलाई प्राथमिकतामा राखेर काम गर्ने भन्ने विषयमा स्पष्टता आवश्यक रहेको उनको भनाइ थियो ।

परराष्ट्रमन्त्री खनालले अबको वैश्विक परिवेशमा राजनीतिक शक्ति आर्थिक शक्तिबाट जोडिने भएकाले त्यसलाई मध्यनजर गर्दै नीति तथा योजना निर्माण गरी प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने उल्लेख गरे ।

यसमा तपाईको प्रतिक्रिया